खोटाङ, १७ पुस । जिल्लामा सञ्चालन भएको सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो सँस्करणमा नेर्पा स्पोर्टस क्लब नेर्पाले विजयी यात्रा शुरु गरेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन भएको पहिलो खेलमा एजुकेटेक ईनरुवा इभेन्ट सुनसरीलाई ३–१ ले पराजित गर्दै साविक विजेता नेर्पा स्पोर्टस क्लब नेर्पाले विजयी यात्रा शुरु गरेको हो ।
खेल शुरु भएको १३ औँ मिनेटमा ईनरुवाका ७ नं. जर्सीका खेलाडी पेम्बा स्याङ्बो लामाले १ गोल गरेर खाता खोलेका थिए । खेलको ३५ औँ मिनेटमा नेर्पा स्पोर्टस क्लबका १० नं. जर्सीका खेलाडी बिकी राईले १ गोल फर्काउँदै खेल बराबरीमा पु¥याएका थिए ।
पहिलो हापमा बराबरी भएको प्रतियोगिताको मध्यान्तरपछि १२ औँ मिनेटमा ईनरुवाका खेलाडीले आत्मघाती गोल गर्दा नेर्पाले अग्रता लिएको थियो । मध्यान्तरपछिको २७ औँ मिनेटमा पुनः बिकीले १ गोल थपेसँगै जित सुनिश्चित गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको प्रतियोगिताको पहिलो खेलमा नेर्पा स्पोर्टस् क्लबका बिकी उत्कृष्ट खेलाडीसमेत घोषित भएका छन् । बिकीले नगद रु दुई हजार ५०० को साथमा मेडल प्राप्त गरेका छन् ।
नकआउट स्टिममा सञ्चालन गरिएको प्रतियोगितामा हारसँगै ईनरुवा बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेल भोलि दिउँसो दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।
माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा हुने प्रतियोगिताको तेस्रो खेल चियाबारी फुटबल क्लब इलाम र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच हुने भएको छ ।
पुस–२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको चौथो खेल खारम्बु स्पोर्टस क्लब खार्मी र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गाबीच हुने जनाइएको छ । विजेता टिमले रु दुई लाख ५१ हजार, उपविजेताले रु एक लाख ११ हजार, सेमिफाइनलिष्ट दुई टिमले रु २५÷२५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षक र अनुशासित टिमलाई जनही नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ता खेलाडीले जनही नगद रु सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद रु दुई हजार ५०० पुरस्कार पाउने जनाइएको छ । गत सँस्करणहरुको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीको प्रचारप्रसारबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गर्न लागिएको आयोजक सहसंयोजक सगुन ताम्राकारले जानकारी दिनुभयो ।
पहिलो र दोस्रो सँस्करण प्रत्येक वर्ष गरिए पनि कोभिडका कारण तेस्रो सँस्करण लम्बिएको आयोजकले जनाएको छ । यसअघि २०७३ चैत–२३ गतेदेखि २७ गतेसम्म पहिलो र २०७५ वैशाख–२६ गतेदेखि ३१ गतेसम्म दोस्रो सँस्करण सञ्चालन भएको थियो ।
प्रथम सँस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो सँस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो । यसअघिका दुई सँस्करण गोल्डकपको रुपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यस पटक आयोजना गरिएको तेस्रो सँस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।
माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूलको नर्सरीमा अध्ययनरत अनुप राईको वि.सं. २०६८ जेठ–२ गते दिक्तेलस्थित पुरानो बैङ्कचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको हो ।