सडक कालोपत्र नगर्ने ठेकेदारसँगको सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

Halesi Khabar
0 Shares

खोटाङ, १८ पुस । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको भन्दै वडा नं. १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिनेगरी ठेक्का सम्झौता रद्ध गर्न माग गरेका हुन् ।

बाँझेच्यानडाँडाका ३०३ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको स्थानीय बासिन्दाले बताएका छन् । मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीय बासिन्दाले सो निर्णयमा फेरबदल नगर्न ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय बासिन्दाको तर्फबाट पूर्व शिक्षक रघुनन्द राईले बुझाउनुभएको ज्ञापनपत्रमा भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रको काम थप अलपत्र पर्ने दावी गरिएको छ । चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था नभएको उनीहरुले बताएका छन् ।

भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि वि.सं. २०७२ चैत–२ गते चखेवाभञ्ज्याङ–सेखुवा सडबखण्ड कालोपत्रको सम्झौता गरेको थियो । सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेषगरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

ठेकेदारले चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिसकेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ । दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडकखण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्र शुरु गरिएको थियो ।

यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै पङ्खु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रकृयामा लगिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेलका प्रमुख डिभिजन इन्जिनियर दिपेन्द्र बताउन’भयो । सम्झौता म्याद नाघेको झण्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिएको हो ।

तपाईको प्रतिक्रिया