‘अनुप स्मृति गोल्डकप’को फाइनलमा नेर्पा र दिक्तेल प्रवेश

Halesi Khabar
0 Shares

खोटाङ, २१ पुस । दिक्तेलमा जारी सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो सँस्करणमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) फाइनल प्रवेश गरेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा चियाबारी फुटबल क्लब ईलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गालाई हराउँदै डिएफसी फाइनलमा पुगेको हो ।

नेर्पाले ईलामलाई २ का विरुद्ध ६ गोल गर्दै सेमिफाइनलिष्टमा सिमित बनाएको छ भने, डिएफसीले ओखलढुङ्गालाई पेनाल्टी सुटआउटमा हराएको जनाइएको छ । सेमिफाइनलिष्टमा चित्त बुझाएका ईलाम र ओखलढुङ्गाले नगद रु २५÷२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेर्पाका तर्फबाट साइमन लिम्बुले दुई गोल, सुदिप श्रेष्ठले एक गोल, बिकी राईले दुई गोल र बिजु भुजेलले एक गोल गरेका थिए । इलामकोतर्फबाट खेलको १४ र ३५ औँ मिनेटमा सञ्जय रम्तेलले दुई गोल गरेका थिए ।

अर्को सेमिफाइनल खेलको निर्धारित समयमा डिएफसीका मनिष लिम्बुले खेलको १५ औँ मिनेट र ओखलढुङ्गाका मनकृष्ण राईले १८ औँ मिनेटमा एकएक गोल गरेपछि अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा ५ काविरुद्ध ६ गोल गर्दै डिएफसीले फाइनलको यात्रा तय गरेको आयोजकले जनाएको छ । गोल्डकपको तेस्रो सँस्करणमा खोटाङसहित विभिन्न जिल्लाका दश टिम खेलाडी सहभागी भएका छन् ।

नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट शुरु हुने खेल संयोजक युधिर शाक्यले जानकारी दिनुभएको छ । नेर्पा अनुप स्मृति गोल्डकपको दोस्रो सँस्करणमा सञ्चालित प्रतियोगिताका विजेता टोली हो ।

माउण्ट एभरेष्ट इङ्ग्लिस वोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिनुभएको छ । प्रतियोगिताका उपविजेताले नगद रु एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टिम प्रशिक्षकले नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । अनुशासित टिमले नगद रु पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले जनही नगद रु सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । तेस्रो सँस्करण गत वर्षहरुको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूलको नर्सरीमा अध्ययनरत अनुप राईको वि.सं. २०६८ जेठ–२ गते दिक्तेलस्थित पुरानो बैङ्कचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको हो ।

प्रथम सँस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो सँस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो । यसअघिका दुई सँस्करण गोल्डकपको रुपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यस पटक आयोजना गरिएको तेस्रो सँस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

 

तपाईको प्रतिक्रिया