साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजनाको काम शुरु

Halesi Khabar
0 Shares

खोटाङ, २३ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीनवटा वडामा साप्सुखोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको छ । वडा नं. ३ बाम्राङ, वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको हो ।

लफ्याङस्थित साप्सुखोला किनारमा शनिबार आयोजित कार्यक्रममा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गर्नुभएको छ । साप्सुखोलाको पानी पाँच हजार १०० मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देविस्थानमा निकालेर दुई हजार ३८२ घरधुरीलाई वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत (भ्याट तथा पिएस सहित) रु ५४ करोड ६७ लाख ९० हजार ७१६ मा मृत सञ्जिवनी–सगरमाथा जेभी, काठमाडौँले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ । निर्माण कम्पनीले वि.सं. २०८२ भदौ–४ गतेसम्मा सम्पन्न गर्नेगरी वि.सं. २०७९ साउन–२२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो ।

खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना शुरु गरिएको मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताउनुभयो । निर्माण कम्पनीले वि.सं. २०७९ भदौ–५ गतेदेखि काम शुरु गरेको जनाएको छ ।

लिफ्टिङ खानेपानी योजना अन्तरगत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतका संरचना बन्ने जनाइएको छ । १०३ किलोमिटर वितरण पाईपलाईन र खोलादेखि पाँच हजार १०० ट्रान्समिसनलाईनको काम हुने निर्माण कम्पनीका इन्जिनियर हरिदेवकिशोर रजकले जानकारी दिनुभएको छ ।

खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकाल्ने योजनासहित लिफ्टिङको काम अघि बढाइएको छ । एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाईड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रम्बाखोला–माझखोला साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत (वि.सं. २०७८)देखि सञ्चालनमा ल्याइएको हो ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल वडा नं.–१ दिक्तेल, वडा नं.–२ सोल्मा र वडा नं.–३ बाम्राङका एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतगरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

करिब वर्षदिनअघि सञ्चालनमा ल्याइएको शहरी खानेपानी तथा सरसफाइ आयोजना विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ । दिक्तेल बजारको ढलान गरिएको सडकमुनि बिच्छ्याइएको खानेपानीको पाइपमा ठेकेदारको लापरबाहीका कारण समस्या देखिएपछि ढलान काटेर मर्मत गर्दा विभिन्न ठाउँमा पारिएको खाल्डाखुल्डीले सवारी साधन तथा पैदल यात्रुलाईसमेत आवतजावतमा समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया