खोटाङ, २५ पुस । हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान शुरु गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्त्रण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
नगरबासी नागरिकको सहजताका लागि नगरपालिकाले शुरु गरेको अभियानको पहिलो दिन सोमबार वडा नं. ११ राजापानीस्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ । राजापानीको वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा १५ वटा योजना सम्झौता गरिएको छ ।
शिविरमा नगरपालिकाले सञ्चालन गरिरहेको बालिका बचत कार्यक्रम अन्तरगत बैङ्कमा रकम जम्मा गरेर दश जनालाई भौचर हस्तान्त्रण गरिएको जनाइएको छ । यस्तै, २०० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिएको छ ।
शिविरमा १५० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । (क) वर्गका १, (ख) वर्गका ४, (ग) वर्गका २ र (घ) वर्गका १ गरी ८ जनालाई अपाङ्गता परिचयपत्र र ३० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षाभत्ता बुझ्न वृद्धवृद्धाहरु लठ्ठीको सहारामा वडा कार्यालय आएका थिए । हलेसी तुवाचुङमा सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण शुरु भएपछि भत्ता बुझ्न बैङ्कसम्म पुग्नु पर्ने बाध्यता छ ।
राजापानीदेखि हलेसीसम्म पुगेर फर्किदा भत्ताको आधा रकम सकिएको सुनाउदै हाल वडामै भत्ता पाउदा धेरै खुशी लागेको वृद्धवृद्धाले प्रतिक्रिया दिएका छन् । वडासम्म आउन नसक्ने व्यक्तिको भत्ता परिवारका सदस्यलाई प्रदान गरिएको छ ।
यस्तै, योजना सम्झौता गर्न नगरपालिकाको कार्यालयमा धाउदा धेरै खर्च हुने गरेको उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै वडामै सम्झौता गर्न थालिएको छ । वडागत योजना सम्झौतादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर परिचयपत्र वितरण गर्न पाउँदा आफूहरुसमेत सन्तुष्ट भएको जनप्रतिनिधिहरुले बताएका छन् ।
नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृतघुम्ती शिविर सञ्चालन अभियान शुरु गरिएको नगरप्रमुख विमला राईले बताउनुभएको छ । “विशेषगरी सामाजिक सुरक्षाभत्ता लिने नागरिकलाई समस्या छ । भत्ता लिन हलेसी पुग्नुपर्छ । सवारी साधन प्रयोग गरेर जादा आधा रकम उतै सकिने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले वडामै पुगेर भत्ता वितरण गर्न थालेका छौँ । वडाका योजना साना छन् । सम्झौताका लागि नगरपालिका पुग्नुपर्ने उपभोक्ताको बाध्यता छ । उहाँहरुको समय र स्रोतको बचत गर्न शिविरमार्फत सेवा दिन थालेका हौँ ।”
वडा कार्यालय आएका कतिपय सेवाग्राहीको कागजपत्र नमिलेका कारण रित्तो हातसमेत फर्किका छन् । विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीमा समस्या देखिएकाले त्यस्ता व्यक्तिहरुको कागजपत्र मिलाएर पुनः उहाँहरुलाई सहज वातावरणमा सेवा प्रदान गरिने वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो ।
अभियानका क्रममा साविकको राजापानी गा.वि.स वडा–१ थुम्कीका लोकबहादुर बुढाथोकीलाई उहाँको घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । करिब एक वर्षदेखि प्यारालाइसेस रोगले ओछ्यान लाग्नुभएका बुढाथोकीलाई उपप्रमुख रमेशकुमार राउत, वडाध्यक्ष अनिश कार्की, नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे लगायतको टोलीले परिचयपत्र प्रदान गरेको हो ।