क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई सात दिनको समयसीमा

Halesi Khabar
0 Shares

खोटाङ, २९ पुस । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयबाट यही पुस–२२ गते प्राप्त पत्रको आधारमा जिल्ला अनुगमन समिति खोटाङको आज (शुक्रबार) बसेको बैठकले क्रसर उद्योग सञ्चालन भएनभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो ।

स्थानीय तहलाई लेखिएको पत्रमा व्यवसायिक क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ कुन–कुन स्थानमा उत्खनन् भइरहेका छन् भन्ने यथार्थ विवरण सात दिनभित्र अनिवार्य बुझाउन समयसीमा तोकिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बसेको समितिको बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन्को अवस्था अनुगमन गर्ने अधिकार प्रहरी प्रशासनलाई दिने निर्णयसमेत गरिएको समितिले जनाएको छ ।

क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरेनगरेको समेत खुलाउन निर्देशन दिइएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो । “जिल्लाका अधिकांश क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन् वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन भएको पाइएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा नियमन गर्ने उद्देश्यले हरेक स्थानीय तहमा कार्यदल गठन गर्दै अनुगमनलाई चुस्त तथा दुरुस्त बनाउन पत्रमार्फत आग्रह गरिएको छ ।”

जिल्लामा कतिवटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् भन्ने अहिलेसम्म कुनै पनि निकायसँग यथार्थ विवरण भेटिएको छैन । जिल्ला प्रशासन कार्यालय खोटाङले पुस–२४ गते गृह मन्त्रालयमा पठाएको पत्रमा दुईवटा क्रसर उद्योग सञ्चालनमा रहेको र एउटाले सञ्चालनका लागि अनुमति लिएको उल्लेख गरिएको छ ।

प्रशासनले पठाएको पत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र सोही नगरपालिकाको वडा नं. ४ खाल्लेमा क्रसर उद्योग सञ्चालन रहेको भनिएको छ । नेर्पामा प्रतिज्ञा निर्माण सेवा एण्ड सप्लायर्स र खाल्लेमा खोटाङ हलेसी कन्ट्रक्सन प्रा.लि.को नाममा क्रसर उद्योग सञ्चालनमा रहेको भेटिएको जिल्ला प्रशासन कार्यालय खोटाङका शाखा अधिकृत भुपेन्द्र राईले बताउनुभयो ।

नेर्पामा व्यवसायिक तथा खाल्लेमा दिक्तेल–आहाले सडक कालोपत्र प्रयोजनमा क्रसर उद्योग खोखिएको गृह मन्त्रालय पठाइएको पत्रमा खुलाइएको छ । उता, केपिलासगढी गाउँपालिकाले १५ श्ययाको अस्पताल निर्माणका लागि क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको पाइएको प्रशासनका शाखा अधिकृति राईले जानकारी दिनुभएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि धेरैवटा क्रसर उद्योग सञ्चालनमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रका लागि दिप्रुङ चुइचुम्म गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवामा एउटा क्रसर उद्योग सञ्चालनमा रहेको जनाइएको छ ।

नदीजन्य पदार्थ उत्खनन् जिल्लाका दशवटै स्थानीय तहमा बिना रोकतोक खुलेआम भइरहेको समाचार स्रोतले जनाएको छ । विशेषगरी, दूधकोशी, सुनकोशी, रावाखोला, सावाखोला, साप्खुखोला लगायतका ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

खानीजन्य उत्खनन् भने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं. २ सोल्मा, वडा नं. ३ बाम्राङ, वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङमा भइरहेको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्मा जिल्लाका केही स्थानीय तहले कर (शुल्क)समेत उठाउने गरेका छन् ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया