खोटाङ, १ माघ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीया छोरी विनिता आचार्य गम्भीर घाइते भएकी हुन् ।
कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा चोट लागेका बालिकालाई उपचारका लागि काठमाडौँ लगिएको छ । सौतेनी आमाले विनितालाई पुस–२९ गते दिउँसो कोठामा बसेर पढिरहेकोबेला कुटपिट गरेको आफन्त हीरालाल आचार्यले बताउनुभएको छ ।
जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पु¥याइएका विनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ । सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।
सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।
घटना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र बान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो । अस्पतालले रेफर गरेपनि घर ल्याइएका विनिताकालाई राति सिकिस्त बनेपछि पुनः अस्पताल लगिएको थियो ।
घरमा बुबा नभएकोबेला विनितामाथि कुटपिट भएको बताइएको छ । आफूलाई माता बताउने सौतेनी आमाले यसअघि पनि पटक–पटक कुटपिट गर्दै आएकी थिइन् ।