ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला

Halesi Khabar
0 Shares

खोटाङ, १ माघ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोशी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोशी किनारमा माघे सङ्क्रान्तिको अवसर पारेर पाँच दिनसम्म लाग्ने गरेको छ ।

माघे सङ्क्रान्तिको अवसरमा दूधकोशीमा मकर नुहाउने र मेला भर्ने हजारौँ मानिसको भीड लाग्ने गरेको स्थानीय बासिन्दा एवम् व्यवसायी बाबुराम जोशीले बताउनुभयो । रभुँवाघाटको ऐतिहासिक मेलामा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यमका रुपमा परिचित छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण तीन वर्ष स्थगित गरिएको माघे सङ्क्रान्ति मेला यस वर्ष लगाइएको बजार व्यवस्थापन समितिका संयोजक एवम् लामीडाँडाका वडा सदस्य सोमबहादुर माझीले बताउनुभएको छ । चार वर्षपछि लगाइएको मेला बिगतको तुलनामा बृहत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्तिको अवसर पारेर वि.सं. २००७ सालभन्दा अघिदेखि मेला लाग्दै आएको जानकारहरुले बताउँदै आएका छन् । खोटाङको भू–भागमा पर्ने लामीडाँडास्थित रभुँवाघाटमा माघे सङ्क्रान्ति र हरिबोधिनी एकादशीमा दुई पटक ठूलो मेला लाग्दै आएको छ ।

मेलालाई व्यवस्थित गर्न र आपराधिक क्रियाकलाप हुन नदिन खोटाङ र ओखलढुङ्गाको प्रहरी परिचालन गरिएको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । “पाँच दिनसम्म लाग्ने अस्थायी मेलामा स्थानीय बासिन्दाले मनोरञ्जनका कार्यक्रमहरु समेत राख्ने गरेका छन्”, उहाँले भन्नुभयो, “रमाइलो गर्नेक्रममा झैझगडा हुनुका साथै आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावनलाई ध्यानमा राखेर दुवै जिल्लाका प्रशासनसँग समन्वय गरेर प्रहरी परिचालन गरिएको हो ।”

खोटाङ र ओखलढुङ्गाका स्थानीय बासिन्दाको व्यापारिक केन्द्रसमेत रहेको ऐतिहासिकस्थल रभुँवाघाटको अस्तित्व अबको केही वर्षपछि नामेट हुँदै छ । रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालन हुँदै छ ।

आयोजनाबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु तीन जिल्लाका एक हजार १५० घरधुरी प्रभावित हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले देखाएको छ । खोटाङका ६५७, ओखलढुङ्गाका ४७९ र सोलुखुम्बुका १४ गरी एक हजार १५० घरधुरी प्रभावित हुने भएका हुन् ।

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि नेपाल सरकारले यस वर्ष करिब एक करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने विद्युत प्राधिकरणले जनाएको छ । यसमध्ये हिउँदको समयमा एक अर्ब ३५ करोड ८० लाख र वर्षायाममा दुई अर्ब आठ करोड ४० लाख युनिट विद्युतीय ऊर्जा उत्पादन हुने डिपिआरमा उल्लेख छ ।

जापान सरकारको सहयोगमा कोशी बेशिन अध्ययन गुरुयोजना अन्तरगत वि.सं. २०४२ सालमा पहिचान भएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना लामो समयपछि उत्पादनको प्रक्रिया शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै रभुँवाबजारमा बन्ने करिब २२० मिटर गहिरो दूधकोशी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दूधकोशी जलाशययुक्त आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न खोटाङका स्थानीय बासिन्दा एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।

करीब रु दुई खर्ब लगानीमा सम्पन्न हुने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना पाँच वर्षभित्र सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ । निक्कै ठूलो धनराशी खर्च हुने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना वैदेशिक ऋण सहयोग, नेपाल सरकार र वित्तीय संस्थाको लगानीमा सम्पन्न गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया