सोल्मा स्पोर्टस् क्लबले फागुन–६ गतेबाट वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

Halesi Khabar
0 Shares

खोटाङ, २ माघ । सोल्मा स्पोर्टस् क्लब खोटाङले आगामी फागुन दोस्रो साता वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फुटबल खेलको व्यवसायिक विकासमा टेवा पु¥याउने उद्देश्यकासाथ क्लबले फागुन–६ गतेदेखि १३ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा प्रथम, द्धतीय र सेमीफाइनलिष्ट हुने दुईवटा टिमले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ ।

एलाभेन साईजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ । तीनजना खेलाडी भने खुला हुने क्लबले जनाएको छ ।

प्रतियोगिताका लागि माघ–२७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र माघ–२८ गते खेल तालिका सार्वजनिक गरिने क्लबले जनाएको छ । स्थानीय खेलप्रेमीको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

खेलमैदानको थप काम शुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगिता अवरुद्ध भएकोमा काम सकिएपछि पुनः प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष राईले जानकारी दिनुभयो । सोल्मा स्पोर्टस् क्लबका लागि प्रदेश तथा सङ्घीय सरकारको लगानीमा आफ्नै खेलमैदान निर्माण गरिएको छ ।

वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एक जना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लबले जनाएको छ । यसअघि सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो ।

पाँच वर्षअघि सञ्चालन गरिएको प्रतियोगितामा वडा नं. १ दिक्तेलले उपाधि चुमेको थियो । वडा नं.–२ सोल्मालाई ४–० ले हराउँदै वडा नं.–१ दिक्तेलले नगद रु ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको थियो ।

वि.सं. २०७२ सालमा नगरकप सञ्चालन गरेको सोल्मा स्पोर्टस् क्लबले यस वर्ष खुला वडास्तरीय प्रतियोगिता गर्ने तयारी गरेको क्लबका सल्लाहकार गंगाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । यस वर्षको प्रतियोगिता शुभेच्छुक तथा सङ्घसंस्थाको सहयोगमा सञ्चालन गर्न लागिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया