खोटाङ, ५ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनुभएको छ । एक सञ्चार माध्यममा ‘उपप्रमुख विशनले आठ महिनामै रु पाँच लाख भुक्तानी लिएपछि…’ शीर्षकमा समाचार आएपछि उपप्रमुख राईले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख राईले राज्यले दिने सेवा÷सुविधासमेत आफूले सीमितमात्रै लिएको दाबी गर्नुभएको छ । “विभिन्न शीर्षकमा उपप्रमुखले पाउने सेवा÷सुविधा बापतको रकम मासिक करिब रु एक हुने रहेछ”, उहाँले भन्नुभयो, “आठ महिनाको अवधिमा मैले रु दुई लाख पाँच हजारमात्र लिएको छु । देशभरका उपप्रमुखमध्ये सबैभन्दा कम सुविधा लिनेमा म पर्छु भन्ने मेरो दाबी छ ।”
उपप्रमुख राईले पत्रकार सम्मेलनमा नगरपालिकाबाट आफ्नो खातामा जम्मा भएको रकमको बैङ्क स्टेटमेन्टसमेत सार्वजनिक गर्नुभएको छ । उपप्रमुख राईले आफूलाई राज्यले दिएको सुविधासमेत नागरिकको हितमा लगानी गर्ने उद्देश्यले करिब रु छ लाख रकम भुक्तानी नलिएको दाबी गर्नुभयो ।
आफूले नगरबासीको हितमा काम गर्दागर्दै केही व्यक्तिले गलत नियतका साथ आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार सम्प्रेशन गरेको प्रति आपत्तिसमेत जनाउनुभयो । “मैले गलत गरेको भए तपाईको सञ्चारमाध्यममार्फत जनता सामू पर्दाफास गर्नुस्”, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कसैले बिना कारण कसैको चरित्र हत्या गर्न खोज्छ भने उनलाई कानूनी कारबाहीको दायरामा ल्याउँछु ।”
नगरपालिकामा आफूहरु निर्वाचित भएर आएपछि केही हदसम्म सुशासन कायम गर्न सफल भएको उपप्रमुख राईले दाबी गर्नुभएको छ । उपप्रमुख राईले नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउँदै सुशासन कायम गराउन आगामी दिनमा आफ्नो कदमलाई थप कडाइका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।