खोटाङ, ६ माघ । “टाउको भरी ठूला–ठूला फोका छन् । फोकाहरु वर्षेनी बढीरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ ।”
अठार वर्षको उमेरदेखि समस्या झेल्दै आउनुभएका तिवारी आफ्नो टाउको र शरीरको ऐजेरु हट्ने भएपछि खुसी हुनुभएको छ । तर, उपचारमा लाग्ने खर्च नभएर त्यति नै दुःखी पनि हुनुभएको छ ।
“उपचार त हुने भयो । तर, पैसा कसरी ल्याउने भन्ने पिर लागिरहेको छ”, उहाँले भन्नुभयो, “मेरो अप्रेशन यहि माघ–१८ गते वीर अस्पतालमा हुने भयो । तपाईहरुले सहयोग गरेकै पैसाले अस्पतालसम्म आएको छु । अब फेरि सहयोग गरेर मलाई निको बनाइ दिन सबैसँग हात जोडेर अनुरोध गर्दछु ।”
बिहान÷बेलुकी हातमुख जोड्नसमेत धौ–धौ पर्ने तिवारीको उपचारमा आर्थिक समस्या परेको खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि देश÷विदेशबाट सहयोग गरेका छन् । तिवारीको खातामा रु ६०÷७० हजार देश विदेशबाट सहयोग जम्मा भएपछि अहिले भने उपाचारका लागि काठमाडौँ पुग्नुभएको छ ।
घरमा श्रीमती र दुई छोराछोरी भएको तिवारीको तीन पटकमा उपचार गर्ने डाक्टरहरुले योजना बनाएका छन् । लट्याउनुपर्ने र ऐजेरु धेरै भएकाले एकै पटकमा गर्न असम्भव भन्दै चिकित्सकहरुले तीन पटक गरेर अप्रेशन गर्ने योजना बनाएका छन् ।
अस्पतालले शुरुमा रु ५० हजार डिपोजिट (अप्रेशनका लागि अस्पतालमा जम्मा) गर्नुपर्ने र त्यसपछि अप्रेशन र औषधि लगायतको खर्च कति आउँछ उपचार सकिएपछि मात्र थाहा हुने बताएका छन् । अप्रेशन र औषधि लगायतको खर्च गरेर साढे दुई लाख जतिले पुग्ला कि भन्ने तिवारीको अनुमान छ ।
सामान्य घरखेती गरेर परिवार धान्दै आएका तिवारीका लागि यत्रो खर्च कसरी ल्याउने भनेर अहिले रातदिन पिरलो बनेको छ । सामाजिक सञ्जालमार्फत खर्च जुटेपछि महिना दिनअघि काठमाडौँ पुग्नुभएका तिवारी अहिले आफन्तका बसिरहनुभएको छ ।
तिवारीको उपचारमा सहयोग गर्न चाहनु हुने तपाई जो कोहीले उहाँकै बैङ्क खातामार्फत सहयोग गर्न सक्नुहने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैङ्क, दिक्तेल शाखामा शम्भु तिवारीको नाममा खाता खोलिएको छ ।
खाता नम्बर २०६०१०००३७७०५०१० रहेको छ । काठमाडौँमा उपचारमा सहयोग गरिरहनु हुने कमला रोका (९८४१५७३६२५)लाई सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुने तिवारीले बताउनुभएको छ ।