विद्यार्थीले विद्यालयमा लगाएको ताला पाँच दिनपछि खोलियो

Halesi Khabar
0 Shares

खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्रकुमार राई, शिक्षा शाखा प्रमुख पदमबहादुर कार्की, वडाध्यक्ष अनिश कार्की लगायतका टोलीले विद्यालयमा लगाइएको ताला खोलेका हुन् ।

प्रधानाध्यापक रामदेव यादवको लापरबाहीसँगै शिक्षक समयमा उपस्थित नभएको भन्दै विद्यार्थीले बिहीबार विद्यालयमा ताला लगाएका थिए । सोमबार ताला खुलाइएसँगै विद्यालयको नियमित पठनपाठन शुरु भएको छ ।

संयोजक राई, शाखा प्रमुख कार्की, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक लगायत सरोकारवाला निकायको छलफलले विद्यालयको ताला खोलेको वडाध्यक्ष कार्कीले बताउनुभयो । हिउँदे बिदा सकिएर माघ–३ गतेबाट विद्यालय सञ्चालनमा आएपनि प्रधानाध्यापक यादवसहित पाँच जना शिक्षक माघ–५ गतेसम्म उपस्थित नभएपछि आक्रोशित बनेका विद्यार्थीले विद्यालयमा ताला लगाएका थिए ।

समयमा उपस्थित नहुने प्रधानाध्यापक यादव, शिक्षकहरु रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादव र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिनभित्र बुझाउने गरी लिखित स्पष्टीकरण सोधेको वडाध्यक्ष कार्कीले बताउनुभयो । चित्तबुझ्दो जवाफ नआएमा कानून अनुसार कारबाहीका लागि सिफारिस गरिने उहाँको भनाइ छ ।

प्रधानाध्यापक यादवलाई भने पटक–पटक विद्यालयमा लापरबाही गरेकाले कारबाहीको लागि सिफारिस गरिएको जनाइएको छ । कसैलाई जानकारी नगराइ, लिखित निमित्त प्रधानाध्यापक नदिइ विद्यालयबाट पटक–पटक बेखबर बनेकाले कारबाहीको लागि सिफारिस गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

यता, प्रधानाध्यापक यादवले भने आफू विद्यालयकै कामले उपस्थित नभएको बताउनुभएको छ । हिउँदे विदामा लहान घर भएको र कक्षा–११ र १२ का विद्यार्थीको परीक्षा फारम र राजश्व परीक्षा बोर्डको कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया