खोटाङ, १० माघ । कुनै समय खोटाङको उत्पादन भन्ने बित्तिकै घङ्गरुको लौरो भनेर चिनिन्थ्यो । भ्रमण होस् वा सरकारी कामकाजका लागि बाहिरी जिल्लाबाट खोटाङ आउने जो कोही अतिथिलाई मायाँको चिनो स्वरुप घर फर्कँदा एक÷एकवटा घङ्गरुको आकर्षक लौरो उपहार दिइन्थ्यो ।
छिमेकी जिल्ला भोजपुरको खुकुरी र ओखलढुङ्गाको राडीपाखी त्यस जिल्लाको चिनारी भनिएझै कुनै समय खोटाङलाई घङ्गरुको लौरो भनेर चिनिन्थ्यो । समाउने ठाउँमा चरा, सर्प तथा माछाको कलात्मक स्वरुप भएको घङ्गरुको आकर्षक लौरो उपहार पाउँदा जिल्ला आउने अतिथिहरु पनि मख्ख पर्दथे ।
लौरोको डण्डीमा खोटाङ तथा नेपालको नक्सा, लालीगुराँस, सवोच्च शिखर सगरमाथा, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पन्छी डाँफे, राष्ट्रिय रङ्ग सिम्रीक, नेपालको राष्ट्रिय गान लगायत राखिएको हुन्थ्यो । तर, पछिल्लो समय लौरो बनाउने गालीगढ अभाव हुँदा खोटाङलाई मुलुकभर चिनाउने घङ्गरुको लौरो लोप हुँदै गएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका मिलन चाम्लिङले दिक्तेल बजारमा भण्डै तीन दशक पहिले ‘चाम्लिङ हेण्डी क्राफ्ट सेन्टर’ सञ्चालन गर्नुभएको थियोे । शुरुमा व्यवसायिक जस्तो नभएको उहाँको सीप बिस्तारै उद्योगका रुपमा फस्टाएको थियो ।
‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परि आयो भने पुर्पुरो सेक्ने’ चाम्लिङ ह्याण्डी क्राफ्ट सेन्टरको नारा नै बनेको थियो । चाम्लिङले सञ्चालन गर्नुभएको चाम्लिङ हेण्डी क्राफ्ट सेन्टरमा त्यसबेला जिल्लाकै दुईजना भाइहरुलाई सिकानु पनि भएको थियो ।
चाम्लिङले बनाउनुभएको लौरोले देश तथा विदेशका नागरिकहरुलाई साहारामात्र दिएन खोटाङका बेरोजगार दुई युवाले सामान्य रोजगारी पनि पाएका थिए । जब परिस्थितिले चाम्लिङलाई काठमाडौँ झिकायो खोटाङमा केहि न केहि अभाव रह्यो ।
चाम्लिङसँगै लौरो उत्पादन गर्न सीप सिक्नुभएका भगिन्द्र विश्वकर्मा र नारायण विश्वकर्माले यो पेशालाई निरन्तरता दिन सक्नुभएन । भगिन्द्र लौरो बनाउन सजिलो काम भएपनि यो पेशाबाट जीविकोपार्जन नहुने भएपछि विदेश जानुभयो ।
यस्तै, नारायण विश्वकर्मा पनि यो पेशामा रमाउन सक्नु भएन । यसपछि चाम्लिङले व्यावहारिक तालिम दिनुभएका युवा खाल्लेका भीमबहादुर विश्वकर्मा र रविन्द्र विश्वकर्मा रहनुभएको थियो । रविन्द्रले खास यसलाई पेशाकृत गर्नुभएन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका भीमबहादुरले भने यसलाई व्यावसायिक हिसाबले अगाडि बढाउन मेहनत गर्नुभएको थियो । केहि समय दिक्तेलमा पसल नै खोलेर पनि बस्नुभयो ।
सामान्यत बाँसबाट निर्माण गरिएका हस्तकलाको समान र घङ्गरु लगायत काठको लौरोमा जनवारको सिङबाट बनाइएका समाउने भागहरु निकै राम्रा र लोभ लाग्दा हुने नै भए । तर, यहि व्यवसायले भने उहाँलाई पनि टिकाएन । भीमबहादुर पनि यो पेशा नै छाडेर फर्निचर उद्योगतिर काम गर्दागर्दै उहाँको गत वर्ष करेण्ट लागेर मृत्यु भयो ।
दिक्तेल छाडेर काठमाडौँ छिर्नुभएका चाम्लिङले समेत यसको निरन्तरता दिन सक्नुभएन । उहाँले काठमाडौँमा चाम्लिङ ड्राईभिङ सेन्टर खोलेर चलाइरहनुभएको छ । यी माथिका प्रशङ्ग अब कथाको रुपमा मात्र रहेका छन् । यसलाई कथा बनाउन मात्र सकिने अवस्थाको सिर्जना हुनु दुःखद विषय हो ।
घङ्गरुको लौरोलाई व्यवसायिक प्रवद्र्धन गर्न सकेको भए व्यक्तिगत हिसाबमा लागेका उद्यमीहरुलाई प्रोत्साहन गरेर विदेशमा बनेका स्टिलका लौरोहरुको सट्टामा नेपाली लौरोको बजारमा खोटाङको नाम राख्न सकिन्थ्यो । यी सामान्य कामहरु गर्नबाट हामी चुक्दा हाम्रो खोटाङको लौरोको पहिचान गुम्दै गएको छ ।
तर, पछिल्लो समय खोटाङमै एकजना लौरो अभियान्ता बनेर अगाडि आउनुभएको छ । लामो समय सरकारी सेवामा रहेर पेन्सनमा निस्कनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ (साविक दिक्तेल–५) बसेखाका चन्द्रप्रसाद आचार्य अहिले लौरो अभियान्ताका रुपमा चिनिनुहुन्छ ।
उमेर हदका कारण पाँच वर्षअघि सरकारी सेवा (नायब सुब्बा)बाट अवकाश लिनुभएका उहाँले घरमा बस्दै गर्दा वृद्धवृद्धाको साहारा हुने मन गर्नुभयो । जागिरको सिलसिलामा गाउँ–गाउँ, बस्ती–बस्ती चहार्नुभएका उहाँले वृद्धवृद्धालाई जीवनको उतारार्धमा साथ दिने एकमात्र सहारा लौरो मात्र रहेछ भन्ने अड्कल काट्नुभयो ।
घङ्गरुको लाथ्राहरु बटुलेर खिप्न थाल्नुभयो । खिपेर बनाइएका लौरोलाई उहाँले शुरुमा आफ्नै गाउँ दिक्तेल आचार्य गाउँ वरिपरिका वृद्धवृद्धालाई निःशुल्क बाँड्नुभयो । जागिरकै सिलसिलामा धेरैवटा गाउँमा पुग्नुभएका उहाँले अरु गाउँबस्तीका वृद्धावृद्धा नचिन्ने कुरै भएन । उहाँले यो कामलाई निरन्तरता दिन थाल्नुभयो ।
उहाँले धार्मिकग्रन्थमा १०८ र एक हजार आठ दान गर्नुको विशेष अर्थ र महत्व रहेको बुझ्नुभएको छ । यहि धार्मिक मान्यताको आधारमा उहाँले शुरुमा १०८ लौरो दान गर्ने भनेर शुरु गरेको अभियान अब एक हजार आठको लक्ष्यमा पुगेको छ ।
गाउँका वृद्धृवद्धालाई आफै गएर लौरो दिने गर्नुभएका आचार्यले टाढाका वृद्धवृद्धालाई आफन्तमार्फत लठ्ठी पठाइदिने गर्नुभएको छ । वि.सं. २०३७ कातिक–१५ गते बहुमुखी विकास कार्यकर्ता तथा गाउँ पञ्चायत सचिव (खरिददार) का रुपमा सरकारी सेवामा प्रवेश गरेका आचार्यले वि.सं. २०७४ जेठ–१९ गते सरकारी जागिरबाट अवकाश लिएपछि निरन्तर लौरो उत्पादनमा लाग्नुभएको हो ।
पहिल्यै अलिअलि लौरो खिप्ने सीप रहेको बताउनुहुने आचार्यले सीपलाई सदुपयोग गरेर अशक्तलाई प्रदान गर्दा मानवीय सेवा र धर्म पनि हुने भएकाले यो काम गरेको बताउँदै आउनुभएको छ । उहाँले खबर आए र पु¥याइदिने माध्यम भए १०० वर्ष नाघेका नेपालका जुनसुकै ठाउँका वृद्धवृद्धालाई पनि लौरो उपहार पठाइदिने गर्नुभएको छ ।
मायाको चिनोको रुपमा लौरो दिने खोटाङको पृथक पहिचानलाई जोगाउन यो कार्य निकै महत्वपूर्ण रहेको छ । यसलाई प्रोत्साहित गर्न स्थानीय सरकार तथा सङ्घ संस्थाको तर्फबाट सम्मान गर्नुपर्दछ ।