साकेलामा शिविरमार्फत रु ५५ लाख सामाजिक सुरक्षाभत्ता वितरण

Halesi Khabar
0 Shares

खोटाङ, ११ माघ । साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता शिविरमार्फत वितरण गरेको छ । शिविरमा ४८१ जना लाभग्राहीका लागि बैङ्किङ प्रणालीमार्फत रु ५५ लाख २९ हजार ५०० सामाजिक सुरक्षाभत्ता बापतको रकम वितरण गरिएको हो ।

गाउँपालिकाले वर्षको तीन पटक शिविरमार्फत प्रत्येक वडा र टोलहरुमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । शारीरिक रुपमा अशक्त भइ बैङ्कसम्म पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्न नसक्ने लाभग्राहीको सहजताका लागि गाउँपालिका र नेपाल एसबिआई बैङ्कबीच भएको सम्झौता अनुसार प्रत्येक वडामा शिविर सञ्चालन गरेर रकम वितरण गर्ने गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताउनुभयो ।

साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविर यही माघ–३ गतेबाट शुरु गरिएको थियो । वडा नं. ३ को खिदिमाबाट शुरु गरिएको शिविरको पहिलो दिन ७६ जना लाभग्राहीका लागि रु सात लाख ५०० सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो ।

माघ–४ गते वडा नं. ४ को मात्तिम वडा कार्यालयमा ६१ जना लाभग्राहीको लागि रु. छ लाख ५४ हजार वितरण गरिएको थियो भने माघ–५ गते वडा नं. ५ को मात्तिमबिर्ता वडा कार्यालयबाट ९६ जना लाभग्राहीको लागि रु. दश लाख ९४ हजार वितरण गरिएको थियो । त्यस्तै, माघ–६ गते वडा नं. २ को रतन्छामा १०९ जना लाभग्राहीको लागि रु. १२ लाख ५९ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरिएको जनाइएको छ ।

माघ–९ गते वडा नं. १ को बाँझेच्यानडाँडा वडा कार्यालयबाट ७७ जना लाभग्राहीका लागि रु आठ लाख ७१ हजार र सोही वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा माघ–१० गते सञ्चालन गरिएको शिविरमा ७१ जना लाभग्राहीका लागि रु सात लाख ५१ हजार गरिएको नेपाल एसबिआई बैङ्क साकेला शाखाका प्रबन्धक असिम इङ्नाम लिम्बुले जानकारी दिनुभयो । गाउँपालिकाले आयोजना गरेको सामाजिक सुरक्षाभत्ता शिविरमा सम्बन्धित वडाका जनप्रतिनिधिले सहजीकरण गर्दै आएका छन् ।

शिविरमा उपस्थित नभएको लाभग्राहीका लागि भने नजिकै रहेको नेपाल एसबिआई बैंकबाटै भत्ता झिक्न सकिने व्यवस्था मिलाइएको छ । उनीहरुले देशभरीको कुनै पनि शाखाबाट आफूले प्राप्त गर्ने सामाजिक सुरक्षाभत्ता बुझ्न सक्नेछन् ।

वडाबाटै सामाजिक सुरक्षाभत्ता सहज रुपमा प्राप्त हुने भएपछि लाभग्राहीहरु खुसी छन् । गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि घण्टौँ धाएर बैङ्कमा लाइन बस्नुपर्ने बाध्यता हटेको वडा नं. १ बाँचmेच्यानडाँडाका जेष्ठ नागरिक ललितबहादुर देउजाले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता बुझ्ने साकेलाका लाभग्राहीको सङ्ख्या एक हजार ३०३ जना रहेका छन् । उनीहरुका लागि रु. एक करोड ३० लाख २८ हजार ६२६ निकासा भएको थियो ।

तपाईको प्रतिक्रिया