खोटाङ, १५ माघ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारबिरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउने वा असुलउपरको प्रकृया शुरु गर्न निर्देशन दिएको छ । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण गर्नेक्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको रु आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउन वा असुलउपरको प्रकृया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो ।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरुले साबिकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रकृया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रकृया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजाने लगायतका १६ बुँदे निर्देशन पठाएको छ ।
कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गर्नुभएको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रकृया अघि बढाउन, आवश्यक परे हिनाहिनाको मस्यौटमा दोषी भएकाहरु उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाइ हिनाहिना छानबिन र बिनाधितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिइ वित्तीय विवरण अद्यावधिक गर्न लगायतका विषय उल्लेख छ ।
संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्ने, सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्न, आर्थिक वर्ष २०७८÷०८९ को लेखा परीक्षण सम्पन्न गरी साधारणसभा वा विशेष भेला बोलाएर हिनाहिना र ऋण असुलीको प्रकृया गर्न, समितिले गरेका प्रगति मासिक रुपमा रजिष्ट्रार कार्यालयलाई र नगरपालिकामा पठाउन, संस्था सुधारको अल्पकालीन, मध्यकालीन र दिर्घकालीन कार्ययोजना बनाइ सोको मासिक प्रगति समिक्षा गर्न लगायतका बुँदाहरु सञ्चालक समितिलाई दिइएको निर्देशनमा उल्लेख छ ।
लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रु नौँ करोड ११ लाख १७ हजार ६७८ मध्ये सहकारी बैङ्कले धितो लिलाम गरेर आफ्नो रु ८० लाख असुलउपर गरेको थियो । यस्तै, पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप रु १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ ।
गत पुस–२३ गतेदेखि पुस–२९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रकृया अपनाउन सुझाब दिएको छ । वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।
जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।
सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ ।
सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरुको रु सात करोड बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।
आफूहरुको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि सङ्घर्ष समिति गठन गरेर चरणवद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवम् बचतकर्ता धनीराम नछुङले बताउनुभयो । “आफूहरुको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलन बाहेक रहेन”, उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले घोषणा गरेको चरणवद्ध आन्दोलन अन्तरगत सञ्चालक समितिको घर घेराउ गर्ने, ठगी मुद्दा हाल्ने र उनीहरुको चलअचल सम्पत्ति रोक्का गर्नेसम्मको कार्यक्रम छ ।”
चार हजार ५०० बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नारा÷जुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । ‘हाम्रो बचत फिर्ता गर, सञ्चालक समिति भाग्न पाउँदैन, ऋणिहरु होसियार, सहकारीका प्रबन्धक रुकु जोशीलाई सार्वजनिक गर, अध्यक्ष अनिल जोशी मर्दा संस्था मर्दैन’ जस्ता प्लेकार्डसहित बचतकर्ताहरु आन्दोनमा उत्रिएका हुन् ।