खोटाङ, १६ माघ । त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरको भेटी चोरी गर्ने व्यक्ति सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका छन् । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीस्थित पार्वतीथानमा रहेको दानपेटिका फोरेर चोरी गरेका इलामको सातखरा नगरपालिका–८ का ३६ वर्षीय रुपेश राई पक्राउ परेका हुन् ।
चोरी आरोपमा पक्राउ परेका राईले आइतबार राति करिब ८ः१५ बजेको समयमा दानपेटिका फुटाएर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । सोही फुटेजको आधारमा भाग्दै गरेका राईलाई सोमबार हलेसी तुवाचुङ नगरपालिका– ३ च्यास्मिटारमा रहेको प्रहरी चौकीले पक्राउ गरेको हो ।
चोरीमा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याएर कारबाहीको प्रक्रिया थालिएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो । “दिउँसो सोही मन्दिर वरिपरी घुमिरहेका रुपेश राईले कोही नभएको समय पारेर रडको प्रयोग गरी दानपेकिा फुटाएर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ”, उहाँले भन्नुभयो, “मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले इलाका प्रहरी कार्यालय हलेसीमा खबर गरेलगत्तै सिसिटिभी फुटेजको आधारमा सुमो गाडी चढेर भाग्दै गरेको अवस्थामा राईलाई च्यास्मिटारबाट पक्राउ गरिएको हो ।”
पार्वतीथान राखिएको दानपेटिकामा कति भेटी थियो भन्ने खुलेको छैन । हलेसी आउने भक्तजन तथा दर्शनाथीले चढाउने भेटीलाई व्यवस्थित एवम् पारदर्शी बनाउन पार्वतीथान, महादेव गुफा, बसाहगुफा लगायत विभिन्न ठाउँमा दानपेटिका राखिएको छ ।
हलेसी मन्दिर परिसरमा आपराधिक क्रियाकलाप रोक्न हलेसी तुवाचुङ नगरपालिकाले सिसिटिभी जडान गरेको थियो । शुरुमा जडान गरिएको सिसिटिभी चट्याङले बिगारेपछि पुनः अर्को खरिद गरेर केही समयअघि जडान गरिएको हो ।
मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी प्रभावकारी देखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसीमा जडान गरिएको सिसिटिभी नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको निगरानीमा रहेको छ ।