खोटाङ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले जिल्लाका विकास निर्माणमा भइरहेका ढिलासुस्ती अन्त्य गर्न सरोकारवाला निकायसँग माग गर्ने निर्णय गरेको छ । बराहपोखरीमा सम्पन्न एमाले खोटाङको सातौँ पूर्ण बैठकले जिल्लाका ठूला र राष्ट्रिय महत्व राख्ने सडक, पुल, भवन लगायत विकास निर्माणका काममा भइरहेका ढिलासुस्तीको बिरोध गर्दै यथाशीघ्र निर्माणको काम पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
पार्टीको मागमा सम्बन्धित पक्षबाट सुनुवाइ नभए जिल्लाका विकास निर्माणमा भएका ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचार विरुद्ध योजनावद्ध आन्दोलनमा उत्रनेसमेत निर्णय गरिएको एमाले खोटाङका सचिव कुमार आचार्यले बताउनुभयो । एमालेले गाईघाट–दिक्तेल सडक, मध्यपहाडी लोकमार्ग, दिक्तेल–आहाले–रेग्मीटार सडक, दिक्तेल–खोटाङबजार सडक, साप्सुखोला–पाँचधारे सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, धाप्लाङघाट, बङ्शिलाघाट, मुलघाट, घोपाटार, लिदिङखोला, सिलौरीघाट, कसावा खोला पुल लगायतका संरचना चाँडोभन्दा चाँडो निर्माणको काम सम्पन्न गर्न माग गरेको हो ।
यस्तै, नेपाल सरकारले १०० वटा गन्तव्यस्थलको सूचीमा समावेश गरेको पर्यटकीयस्थल बराहपोखरीको समृद्धिका लागि नेतृत्व गर्न पार्टीको तर्फबाट प्रतिवद्धतासमेत जाहेर गरिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालले जानकारी दिनुभयो । “सुन्दर पर्यटकीय बराह ताललाई आकर्षक पर्यटकीय गन्तत्वको रुपमा विकास गर्न पार्टीकातर्फबाट पहल गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासको कामलाई अगाडि बढाइनेछ ।”
बैठकले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा सञ्चालित लिफ्टिङ खानेपानी योजना बन्द भएकाले उक्त लिफ्टिङ खानेपानी पुनः सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले गत मङ्सिर–४ गते सम्पन्न निर्वाचनमा प्रदेशसभा–१ (क)मा निर्वाचित पाँचकर्ण राई ‘पिके’लाई बधाईसमेत ज्ञापन गरेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित अधिकांश विकासे योजनाका काममा ठेकेदारको लापरबाही देखिएको छ । जिल्लामा सञ्चालित कतिपय योजनामा ठूला राजनीतिक दलका नेता सम्मिलित रहेका छन् ।
सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकको ठेक्का तोडिएको छ भने, मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा सडक सुस्तगतिमा निर्माण भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने दुवै सडकमा ठेकेदारको चरम लापरबाही देखिएको जिल्लाबासीले बताएका छन् ।