हलेसी तुवाचुङमा घरमै पुगेर २२५ जना महिलाको पाठेघर सम्बन्धी निःशुल्क उपचार

Halesi Khabar
0 Shares

खोटाङ, १७ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर सम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क गरिएको छ । एघार वडा रहेको उक्त नगरपालिकाको सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघर सम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको हो ।

नगरपालिकाले सञ्चालन गरेको अभियानका क्रममा २२५ जना महिलाले निःशुल्क सेवा लिएका छन् । जसमध्ये ३२ जना महिलामा जटिल समस्या देखिएकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

शल्यक्रिया गर्नु पर्ने अवस्थाका महिलासँग नियमित सम्पर्कमा रहेर आगामी फागुन–१ गते बनेपास्थित एक अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । पाठेघर सम्बन्धी जटिल समस्या देखिएका महिलाको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्यक्रिया गरिदिने भएपछि पीडित महिलाहरु खुशी भएका छन् ।

नगरपालिकाले वडामा परिचालन गरेको स्वास्थ्यकर्मीले तत्कालका लागि १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिदिएका छन् । अभियानका क्रममा १०४ जना महिलाको पिआइडी (पाठेघर सम्बन्धी सङ्क्रामक रोगको उपचार) गरिएको जनाइएको छ ।

मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिकाले हरेक घरमा स्वास्थ्यकर्मी खटाएर उपचार गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विमला राईले बताउनुभयो । “अघिल्लो वर्ष नगरपालिकाले सञ्चालन गरेको पाठेघरको उपचार सम्बन्धी शिविरमा धेरै महिलाहरु लजाएर आएनन्”, उहाँले भन्नुभयो, “नगरपालिकाबासी महिलामा पाठेघर सम्बन्धी समस्या जटिल बन्दै गएकाले यो वर्ष हरेक महिलाको घरमै स्वास्थ्यकर्मी खटाएर निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा कम उमेरमा विवाह गर्ने महिलामा सबैभन्दा बढी पाठेघर सम्बन्धी समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा १८ प्रतिशत भन्दाबढी महिलामा पाठेघर खस्ने समस्या देखिएको एक तथ्याङ्कले देखाएको छ ।

यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्याहरु लुकाएर बस्ने अर्थात उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिलाहरु पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियान्ताहरुले बताएका छन् ।

सात वर्षअघि जिल्लामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खोटाङका २० जना पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको थियो । सहयोगी नेपाल र जिल्ला स्वास्थ्य कार्यालय खोटाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पाठेघर सम्बन्धी जटिल समस्या भएका २० जना महिलाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया