श्रृङ्खलावद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन इन्सेकको माग

Halesi Khabar
0 Shares

खोटाङ, २२ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले श्रृङ्खलावद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आइतबार आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापन–पत्र बुझाउनुहुँदै वि.सं. २०७३ माघ–२६ गते विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ, धारिलो हतियार प्रयोग गरेर वि.सं. २०७४ जेठ–१६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ विश्वकर्मा र वि.सं. २०७४ साउन–४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी देवी विश्वकर्माको परिवारलाई न्याय दिलाउन गराउनुभएको हो ।

आयोग समक्ष महिलाको हत्याका विषयमा वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन र आम नागरिकलाई राज्य र मानव अधिकारको प्रत्याभूति दिलाउन माग गरिएको इन्सेक प्रतिनिधि फुयाँलले बताउनुभयो । यसअघि राष्ट्रिय महिला आयोगले तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माघ–५ गते गृह–मन्त्रालयलाई पत्राचार गरेको थियो ।

छ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएका तीन महिलाको विभत्स हत्याको घटना प्रकृति उस्तै–उस्तै देखिए पनि हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । लामो समय बित्दासमेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ ।

‘घट्नामा कसको संलग्नता थियो, घटनाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै रहेको छ । तीन महिलाको श्रृङ्खलावद्ध हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरी प्रशासनको चर्को आलोचना हुने गरेको छ ।

घटनाका दोषी पहिचान नभएको विषयमा जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा आवाज उठ्ने गरेको छ । तीन महिलाको श्रृङ्खलावद्ध हत्याका विषयमा अनुसन्धान जारी रहेपनि रिजल्ट (नतिजा) प्राप्त हुन नसकेको प्रहरीले जवाफ दिने गरेको छ ।

जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् भने दोषीको मनोबल बढाउन टेवा पुगिरहेको इन्सेक प्रतिनिधि फुयाँलले बताउनुभएको छ । तीन महिलाको हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन जिल्लास्थित महिला अधिकारकर्मीहरुले प्रहरी प्रशासनको ध्यानाकार्षण गराउँदै आएका छन् ।

होटलमा काम गर्दैआएकी १७ वर्षीया रिता खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित कुसेऔंशी जङ्गलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो ।

टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुङ्गाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयको दाबी छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ५७ वर्षीया ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिब पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो । हलेसीमन्दीरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमुनि उनको शव विभत्स अवस्थामा भेटिएको थियो ।

ज्ञानीमायाँको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तन लगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो । उनको हत्यापछि १२ आनाको रिङ, १० आनाको सौभाग्य, २ आनाको फुली, कम्मरमा बाँधेको पेटीको गोजीमा राखिएको २ आनाको औंठी लुटिएको श्रीमान डिकबहादुर विश्वकर्माले बताउँदै आउनुभएको छ ।

हत्या गरिएका ज्ञानीमायाँको साथमा नगद रु ३०८ मात्र फेला परेको थियो । उनको शव सुतेझैं अवस्थामा लडाइएको अवस्थामा भेटिएको थियो ।

जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माइती पुगेर घर फर्कनेक्रममा सम्पर्क बिहिन बनेकी ३७ वर्षीया देवी दोस्रो दिन वि.सं. २०७४ साउन–५ गते जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जङ्गलमा विभत्स हत्या भएको अवस्थामा फेला परेकी थिइन् । देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले हो ।

तपाईको प्रतिक्रिया