महुरे–राजापानी सडक कालोपत्र : अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार

Halesi Khabar
0 Shares

खोटाङ, २४ माघ । सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ । दिक्तेल–गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे–राजापानी सडकखण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका ठेकेदार निर्माणस्थलमा प्रयोग गरिएका गाडी, क्रसर मेसिन लगायत आवश्यक उपकरणसहित निर्माणाधीन सडक अलपत्र छाडेर हिँडेको हो ।

काम शुरु गरेको लामो समयसम्म अलपत्र बनेको सडकमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको थियो”, उहाँले भन्नुभयो, “निर्माणाधीन सडक अलपत्र छाडेर उपकरण उठाउन थालेपछि सम्बन्धित निकायमा खबर ग¥यौँ । जिल्ला प्रशासन कार्यालय खोटाङले समेत कुनै चासो नदिएपछि निर्माण कम्पनीले माघ–४ गते क्रसरको सामानसमेत उठाएर हिँड्यो ।”

निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको स्थानीय बासिन्दाको आरोप छ । निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्बन्धित मालिक आएर लगेका हुन् ।

भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले वि.सं. २०७७ असार–२९ गतेभित्र सम्पन्न गर्ने शर्तमा वि.सं. २०७३ असार–३० गते योजनाको सम्झौता गरेको थियो । करिब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का रु ४१ करोड ५० लाखको लागतमा लिएको हो ।

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीय बासिन्दालाई छल्ने काम गरेको वडाध्यक्ष राईले बताउनुभएको छ । निर्माण कम्पनीले हालसम्म १४ जना साईड इन्चार्ज (निर्माणस्थलमा खटिने कम्पनीका प्रमुख) परिवर्तन गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । कालोपत्रको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ–२१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

भारत कन्ट्रक्सन÷सिद्धी शाहीका प्रतिनिधि सन्तोष ढकालले केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समक्ष मङ्सिर–१६ गतेदेखि पुस–१३ गतेसम्मको कार्यविवरण पेश गरेका थिए । जेभीले मङ्सिर–१६ गतेदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, मङ्सिर–२३ गतेदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस–३ गतेदेखि १० दिनसम्म बेस फिँजाउने र पुस–१३ गतेदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम शुरु गर्ने कार्यविवरण पेश गरेका थिए ।

महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिने सिद्धी शाही जेभीका सञ्चालक दिपेन्द्र शाही नेपाली काङ्ग्रेस डोल्पाका सभापति हुनुहुन्छ । शाहीले जिम्मा लिएका जिल्लाका अन्य आयोजनाको कामसमेत अलपत्र अवस्थामा रहेका छन् ।

उता, सोही सडकखण्डको राजापानी–फोक्सिङटार र फोक्सिङटार–अँधेरीखोला सडकखण्ड पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले कालोपत्रको काम नगरेपछि गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरले गत पुस–८ गते ठेक्का तोड्न सिफारिस गरेको थियो ।

खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट (१०१ किलोमिटर) लामो सडकखण्डको दुई प्याकेज कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्टिएको छ । उच्च अदालत पाटनले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्ड डिबीएसटी कालोपत्र योजनाको ठेक्का तोड्ने गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो । ठेक्का तोड्ने निर्णयविरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न अन्तरिम आदेश दिएको हो ।

ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो । ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभी काठमाडौँले फोक्सिङटार–सिम्पानी (राजापानी) सडकखण्डमा काम पुनः शुरु गरेको जनाइएको छ ।

अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा विश्वस्त हुने ठाउँ भने नभएको खोटाङ क्षेत्र नं. १ बाट निर्वाचत प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताउनुभयो । ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सूचना जारी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५१ फागुन–१४ गते शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक पूर्वी तराई जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ । निर्माण शुरु गरिएको २८ वर्षसम्म कालोपत्र नभएको यस सडकखण्ड हिउँदमा धुलो र वर्षामा हिलोका कारण अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया