जयराम–हलेसी सडक : सडकैभरी खाल्डाखुल्डी, आवतजावतमा समस्या

Halesi Khabar
0 Shares

खोटाङ, २९ माघ । मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो । साना÷ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारी साधन आवतजवत हुने उक्त जयराम–हलेसी सडकखण्ड वि.सं. २०६७ सालमा ओटासिल कालोपत्र गरिएको हो ।

जिल्लाको प्रमुख मार्ग जयराम–हलेसी सडकको कालोपत्र तीन वर्ष नपुग्दै ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी बनेपछि अहिले सवारी साधन गुड्नै मुस्किल पर्ने अवस्था सिर्जना भएको छ । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्रको मात्रा नमिलाइ नाफा कमाउने उद्देश्यले कम गुणस्तरको ओटासिल कालोपत्र गरेकाले समस्या सिर्जना भएको स्थानीय बासिन्दाको आरोप छ ।

कम्तिमा दश वर्ष टिक्नुपर्ने ओटासिल कालोपत्र तीन वर्ष नपुग्दै उप्किएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) खोटाङका सचिव जीवन राई ‘सङ्गीन’ले बताउनुभयो । “कालोपत्र उप्किएपछि जीर्ण बनेको सडकमा दैनिक हजारौँ यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।” उहाँले भन्नुभयो, “सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने, ठूलो दुर्घटना हुन सक्छ । समयमै सचेत हुन जरुरी छ । सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिले चासो दिनुप¥यो ।”

ठेकेदारले फाईदाका लागि कम गुणस्तरको कालोपत्र गर्न लागेको भन्दै उसबेला सडक आसपासका स्थानीय बासिन्दाले सङ्घर्ष समितिसमेत गठन गरेर आन्दोलनसमेत गरेका थिए । स्थानीय बासिन्दाको आन्दोलनकाबीच स्वच्छन्द–भगवती निर्माण सेवाले दुई वर्ष लगाएर जयराम–हलेसी सडक ओटासिल कालोपत्र गरेको हो ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच (ओटासिल कालोपत्र) उप्किएपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुहरुको गुनासो छ । “गाडीभित्र धुलो छिरेर सास फेर्नसमेत असहज हुन्छ । खाल्डाखुल्डीमा गाडी पस्दा टाउको ठोक्किएर टुटुल्को उठ्छ”, भर्खरै यात्रा गरेका एक यात्रुले भने, “लामो समयदेखि हामी यात्रुहरुले सास्ती भोग्दै आएका छौँ । यसको विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो दिएका छैनन् । यसले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ ।”

जयराम–हलेसी सडक ओटासिल कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आवतजात गर्ने पर्यटक तथा दर्शनार्थी सबैभन्दा बढी मारमा परेका छन् । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतका स्थानीय बासिन्दासमेत व्यक्तिगत तथा रिर्जभ गाडी लिएर आउने गरेका छन् ।

जयरामदेखि हलेसीसम्मको सडकमा हजारौँ खाल्डाखुल्डी हुँदा त्यसमा परेर दर्जनौँ सवारी साधन बिग्रिसकेको खोटाङ यातायात प्रा.लि. खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । “जयराम–हलेसी सडक वानवे (एकतर्फीमात्र गाडी चल्ने) अवस्थाको छ”, उहाँले भन्नुभयो, “वानवे सडकमा रहेको खाल्डाखुल्डी जोगाएर गुडाउँदागुडाउँदै बिपरित दिशाबाट अर्को गाडी आउँछ । त्यसलाई साइट (बाटंो) दिँदा खाल्डोमा पस्छ । खाल्डोमा पसेको गाडी निकाल्दा क्षति हुने गरेको छ ।”

ओटासिल कालोपत्र उप्किएर दुर्घटनाग्रस्त बनेको जयराम–हलेसी सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा डिएस कन्ट्रक्सन प्रा.लि. हेटौँडाले लिएको छ । वि.सं. २०८० असार–२२ गतेभित्र सक्नेगरी वि.सं. २०७७ जेठ–२८ गते रु ११ करोड ७८ लाख १३ हजार ७७९ मा ठेक्का लिएको उक्त सडकको काम अहिले ठप्प छ ।

जयराम–हलेसी सडक मर्मतको काम सुस्त देखिएपछि दुई महिनाअघि ठेकेदार कम्पनीलाई कार्यालयमा झिकाएर तत्काल बाँकी काम पूरा गर्न निर्देशन दिइए पनि अटेर गरेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताउनुभयो । “आज (आइतबार) अनुगमन गर्दा निर्माणस्थलमा चारजनामात्रै कामदार देखियो”, उहाँले भन्नुभयो, “तत्कालै सडक बिभागका डि.ईलाई फोन गरेर तपाईहरु काम लगाउन सक्नुहुन्न भने लेखेर दिनुस् । म प्रहरी पठाएर कारबाहीको दायरामा ल्याउँछु भनेको छु । उहाँले आफै अनुगमनमा आएर काम लगाउने बताउनुभएको छ ।”

ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक ध्रुब कार्कीले भने, जयराम–हलेसी सडक मर्मतको काम ७० प्रतिशत सम्पन्न भइसकेकाले तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । “यसअघि गरिएका कामको भुक्तानी रोकिएकाले काम बन्द गरिएको थियो”, उहाँले भन्नुभयो, “रोकिएको भुक्तानी पाइसकेका छौँ । अब तत्काल कामदार खटाएर बाँकी काम पूरा गछौँ ।”

निर्माणस्थलको अवस्था हेर्दा जयराम–हलेसी सडक मर्मतको काम तोकिएको समयमा कुनै पनि हालतमा काम सम्पन्न हुने अवस्था देखिदैन । खोटाङ्गे जनताको समृद्धिसँग जोडिएको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड मर्मतको काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिइएको खोटाङ क्षेत्र नं. १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताउनुभएको छ ।

छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दालेसमेत उपयोग गर्ने मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोटिर) सेखुवा–चखेवाभञ्ज्याङ अहिले कालोपत्रको काम भइरहेको छ । भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले ठेक्का लिएको उक्त सडक आगामी असार मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि विमल अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ ।

ठेकेदार कम्पनीले वि.सं. २०७५ फागुन–३० भित्र सम्पन्न गर्नेगरि वि.सं. २०७२ चैत–२ गते रु ३२ करोडमा सडक बिभागसमक्ष ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि चौथो पटक थपिएको समयावधिसमेत गत जेठ मसान्त (२०७९ जेठ–३१ गते)मा सकिएको उक्त सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया