खोटाङ, १ फागुन । २८ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीन दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित दशवटै स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका नेताहरु सहभागी छन् ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यशाला गोष्ठीमा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्व सांसद टंक राई, अर्थ÷राजनीतिक विश्लेषक एवम् संविधानसभा सदस्य हरि रोका, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार एवम् प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल, अधिवक्ता हरिन्द्र राई लगायतले सहजीकरण गरिरहनुभएको छ । गोष्ठीमा स्थानीय तहका अधिकार र कानूनी व्यवस्था, ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवाल लगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो ।
कार्यशाला गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित दुई पालिका प्रमुख, दुई उपप्रमुख, २३ वडाध्यक्ष, कार्यपालिका तथा वडासदस्य र पार्टीका नेताहरु सहभागी छन् । पहिलो दिन भएको कार्यक्रममा ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवालका विषयमा छलफल भएको छ ।
कार्यशाला गोष्ठी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयोगका अध्यक्ष राईले नेपाली राजनीतिको वर्तमान रुपरङको परिकल्पनाको शुरुवात वि.सं. २०५२ फागुन–१ गतेबाट शुरु भएको जनयुद्धका कारण सम्भव भएको बताउनुभएको छ । “मुलुकमा भएका वर्तमान राजनीतिक उपलब्धिहरु दश वर्षे जनयुद्धको जगमा भएको हो”, उहाँले भन्नुभयो, “अहिले पनि देशमा राजनीतिक तरलता कायमै छ । राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यकता छ । अहिले हाम्रो पार्टीले उठाएको राष्ट्रिय सहमतिको राजनीति ऐजेण्डा कसैलाई चिढ्याउन वा दङ्ग्याउन उठाइएको होइन । मुलुकको स्थिरता र शान्ति प्रकृयालाई पूर्णता दिँदै मुलुकलाई समृद्ध बनाउनका लागि हो ।”
कार्यशाला गोष्ठी उद्घाटन हुनुअघि २८ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा शहीदहरुको तस्वीरमा माल्र्यापण गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पार्टीका पोलिट ब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’, पोलिट ब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, प्रदेश समिति सदस्य टंकबहादुर थापा, जिल्ला समन्वय समितिका पदाधिकारी एवम् जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, २८ औँ जनयुद्ध दिवसका अवसमा नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार साँझ दिक्तेलको त्रिवेणी चोकमा दीप प्रज्वलन गरेको छ । वि.सं. २०५२ साल फागुन–१ गते शुरु गरेको जनयुद्धकै कारण वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको उपलक्ष्यमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला सचिव भुवन आचार्यले बताउनुभयो ।
दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजन्ती राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार एवम् प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल, पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिथि रहेको थियो । दीप प्रज्वलन कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले एकआपसमा शुभकामना आदानप्रदान समेत गरेका छन् ।