जटिल किसिमका बिरामीको आवतजावत र खानेबस्ने खर्च गाउँपालिका व्यहोर्ने

Halesi Khabar
0 Shares

खोटाङ, २ फागुन । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले जटिल प्रकारको रोग लागेर अन्यत्र उपचारका जानुपर्ने बिरामीलाई अस्पतालसम्म जाने–आउने र उपचार गर्दा बिरामी र कुरुवाको खाने–बस्ने व्यवस्था गाउँपालिकाले व्यहोर्ने बताउनुभएको छ । वडा नं. १ बाँझेच्यानडाँडास्थित स्वास्थ्य चौकीमा भएको प्रजनन स्वास्थ्य, रुग्रता सम्बन्धि स्क्रिनिङ शिविरलाई सम्बोधन गर्नुहुँदै प्रमुख राईले आङ (पाठेघर) खसेर बिरामी भइ अन्त्रय उपचारका लागि रेफर गर्नुपर्ने बिरामीको सहजताका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाएर सहयोग गर्ने बताउनुभएको हो ।

गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल किसिमका समस्या रहेको बताउनुहुँदै गाउँपालिका प्रमुख राईले सम्भव भएसम्म आगामी दिनहरुमा टोलटोलमा घुम्ती सेवाहरु पुर्याउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “आमा स्वस्थ भएमात्र भावि सन्तान स्वस्थ हुन्छ”, उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुगेमात्र समग्र गाउँपालिकालाई समृद्धितर्फ लैजान सकिन्छ ।”

शिविरमा २० जनाले पाठेघरमा हुने क्यान्सर रोगको उपचार गराएका छन् भने परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट आठ जनाले राखेका छन् । त्यस्तै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट झिक्ने नौँ जना, पुनः झिकेर लगाउने दुई जना र योन रोग सम्बन्धी दश जना नागरिकले उपचार पाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो ।

शिविरबाट आङ खसेर बिरामी भएकी ७४ वर्षीया वृद्धालाई भने उपचारका लागि अन्यत्र रेफर गरिएको जनाइएको छ । स्वास्थ्य सम्बन्धी शिविर गाउँपालिकाको सबै वडाहरुमा सञ्चालन गर्ने तयारी गरिएको उपप्रमुख राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले आयोजना गरेको शिविरबाट ५० जना नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । बाँझेच्यानडाँडाका वडाअध्यक्ष हेमन राईको अध्यक्षतामा भएको उक्त शिविर कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख बिर्सिका राई लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, गाउँपालिका प्रमुख राईले साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाका लागि दश दिनभित्र घरधुरी सर्वेक्षण सम्पन गरेर फागुनभित्रै पूर्ण खोप र दिगोपना घोषणा गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ । हालैमात्र साकेला गाउँपालिकाको सभाहलमा भएको पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवद्र्धधनका लागि आयोजना गरिएको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै गाउँपालिका राईले सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत पूर्णखोप सुनिश्चितता गराउने र दिगोपना घोषणा गर्ने अभियानलाई स्थानीय सरकारले महत्वका साथ हेरेको बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया