खोटाङ, फागुन । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जिल्लाको समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, खोटाङले बिहीबार (आज) दिक्तेल बजारस्थित श्रेष्ठ होटलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यो कार्यकालमा जिल्लाको समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
प्रदेश सरकार, १ नं. प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका पासाङले राष्ट्रिय गौरव तथा अन्य ठूला योजनाहरु पूरा गराउन पहल गर्ने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना, मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग, सिम्पानी पान्धारे सडक, खोटेहाङ र जन्तेढुङ्गाको बीचमा पर्ने सावाखोला पुल, बङ्सिलाघाट पुल, हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चिङबुङ गाउँपालिका जोड्ने पुल, च्यास्मिटार–डिकुवा–उदयपुर सडक, मन्दुम ट्रेल लगायतका अन्य ठूला तथा साना योजनाहरु पूरा गराउँन पहल गर्ने बताउनुभयो ।
आफू १ नं. प्रदेश सरकारको खानेपानी, सिचाइँ तथा उर्जामन्त्री हुँदा खोटाङमा खानेपानी योजनाका लागि मात्रै ८४ वटा योजना पारेको र उक्त योजनाहरुमध्ये अपूरो रहेकाले त्यसतर्फ पनि गम्भीर रहेको जानकारी दिनुभयो । प्राविधिक अभावमा प्रदेशका योजनाहरुको अनुगमन तथा मूल्याङ्कन राम्रोसँग गर्न नसकिएको र त्यसले भनेजस्तो उपलब्धि हाँसिल हुन नसकेको पासाङको भनाइ छ ।
प्रदेश १ को आर्थिक समृद्धिको मुख्य आधारको रुपमा मुन्दुम ट्रेललाई विकास गर्न सकिने र यसका लागि होमस्टे, गोठस्टे लगायतका अन्य पर्यटकीय आयामहरुलाई समेट्ने योजना बनाइने बताउनुभयो । खोटाङमा विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी लगायत दर्जनौँ धार्मिक तथा पर्यटकीयस्थलहरु रहेकाले त्यसको उचित प्रवद्र्धनमा आफ्नो पहल हुने नेता पासाङले जानकारी दिनुभयो ।
मुलुकको वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुने बताउनुभयो । “गणतन्त्र, सङ्घीयता, समावसी, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु नचाहने देशी–विदेशी शक्तिहरुले मुलुकमा अस्थिरता निम्त्याउँन खोजिरहेका छन्”, उहाँले भन्नुभयो, “मुलुकमा सलबलाउन थालेको देशी–विदेशी शक्तिलाई परास्त गर्न पनि राष्ट्रिय सहमतिको राष्ट्रपति आवश्यक छ ।”
पछिल्लो समय विभिन्न तरिकाले गणतन्त्र, सङ्घीयता, समावेसी, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरुमाथि धावा बोल्न थालिएको बताउनुभयो । यसको रक्षाका लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दाबी गर्नुभयो ।