खोटाङ, ४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविरमा ६४ जना मोतिबिन्दु भएका व्यक्तिको शल्यक्रीया गरिएको छ । हेल्पिङ हेण्ड अस्पताल काठमाडाँैसँगको सहकार्यमा नेपाल नेत्र ज्याति सङ्घ खोटाङमार्फत सञ्चालित तीनदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविरमा १०३ वर्षीय वृद्धसहित ६४ जनाको शल्यक्रीया गरिएको हो ।
शिविरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पताल चोक निवासी १०३ वर्षीय खड्गबहादुर राउत तथा दुवै खुट्टा नभएका रावाबेँसी गाउँपालिका–६ हौँचुरका ६० वर्षीय पूर्ण गुरुङकोसमेत शल्यक्रीया सफल भएको जनाइएको छ । जन्मजात अपाङ्ग रहेका गुरुङ र वृद्ध राउतले शल्यक्रियापछि देख्न सक्ने भएको बताएका छन् ।
दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पताल परिसरमा आयोजना गरिएको शिविरमा ४०० जना आँखाका रोगीलाई निःशुल्क चश्मा वितरण गरिको जनाइएको छ । बिहीबार सम्पन्न तीनदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविरमा तीनदिने शिविरमा एक हजार १३७ जनाले निःशुल्क सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख मोहनकुमार राउतले जानकारी दिनुभयो ।
विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्जका सह–प्राध्यापक डाक्टर रञ्जु खरेल (सिटौला)को नेतृत्वमा १३ जना चिकित्सकको टोलीले आँखा जाँच तथा शल्यक्रीया गरेका थिए । नगरपालिकाको आग्रहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा अवस्थित शुभम् फाउण्डेसनका ९३ जना विद्यार्थी तथा कर्मचारीको समेत आँखा परीक्षण एवम् परामर्श सेवा प्रदान गरिएको छ ।
आँखा सम्बन्धी गम्भीर किसिमका रोग भएका व्यक्तिहरु खर्च अभावमा सुविधासम्पन्न अस्पताल गएर उपचार गराउन सक्ने अवस्था नरहेको भेटिएपछि निःशुल्क शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्लाकै सबैभन्दा ठूलो तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलमा रहेको यस नगरपालिकाले मुटु र मृगौलाको समेत शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।