खोटाङ, ५ फागुन । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिले आगामी वैशाखमा सर्वाधिक राशिको ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फुटबल खेलको विकास गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले वैशाख–२ गतेदेखि–९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको आयोजना गर्ने भएको हो ।
चिसापानीस्थित खर्क खेलमैदानमा आयोजना हुने गोल्डकपको प्रथम पुरस्कार राशि नगद रु दुई लाख ५५ हजार ५०० को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र रहेको शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक र उत्कृष्ठ डिफेण्डरलाई नगद रु दश÷दश हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । गोल्डकपमा सहभागी खेलाडीहरुका लागि खाना, बास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ ।
गोल्डकपले गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । गोल्डकपलाई सफल बनाउन खेल क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा खेलप्रेमीलाई अपिल गरिने आयोजकले जनाएको छ ।
गोल्डकपलाई सहयोग गर्ने दातालाई कार्यक्रम समापनका दिन धन्यबादसहितको कदर पत्र प्रदान गरिने जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव अमित राईले बताउनुभयो । पत्रकार सम्मेलनमा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, उपप्रमुख खेमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।