बन्द गरेको ४७ वर्षपछि ब्युँताइयो भानुमतिमा शिवरात्रि मेला

Halesi Khabar
0 Shares

खोटाङ, ६ फागुन । वि.सं. २०३२ सालदेखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराउनुभएको शिवरात्रि मेला ४७ वर्षपछि ब्युँताइएको हो ।

धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा शिवरात्रिको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथीबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि शुरु गराइएको जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो ।

सावापारीका राई र सावावारीका भट्टराईबीच मेलाको आम्दानी कसले लिने ? भन्ने विषयमा विवाद भएपछि तत्कालीन जिल्ला सभापति राईले मेला बन्द गराएको जनाइएको छ । खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको सिमाना भएर बग्ने सावाखोलामा रहेको भानुमतिमा मेला लगाउने विषयमा दुई गाउँपालिकाबीच समन्वय तथा सहकार्य गरेर मेला लगाइएको बताइएको छ ।

“सानै हुँदा मेरो आमाले भनेको सुनेको त्यो बेला सतिप्रथा थियो रे । वरिपरिका मानिस मरेपछि त्यहीँ सद्गत गरिन्थ्यो रे, अहिले पनि घाट त्यहीँ छ । कत्ति महिला सति गएको आमाले देख्नुभएको रे । त्यो बेला नि त्यहाँ विशाल मेला लाग्थ्यो रे ।”, जन्तेढुङ्गा गाउँपालिका –५ वाचिपालाका ९९ वर्षीय डम्बरसिंह राईले भन्नुभयो, “मैले पनि पछि मेला भरे । ठूलो मेला लाग्थ्यो । १५ दिनसम्म म नै त्यो मेलामा कत्ति बसे । त्यो बेला पुलिस थिएनन् । जुवातास खेल्ने, त्रिपासा, घुर्नी खेल खेल्ने, रक्सी खाने रनघनको बजार लाग्थियो । मेला भर्न काठमाडौँदेखि महिनौँ हिडेर मान्छे आउथे ।”

“रक्सी खाने, झगडा र मारामार भएपछि वि.सं. २०३२ सालमा पर्शुराम घोडा चडेर आएर मेला बन्द गराएको हो । त्यसपछि पनि मान्छेले टेरेनन् । पछि केही वर्ष मेला लाग्यो । अनि चाहीँ आफैँ बन्द भयो”, राईले भन्नुभयो, “म पनि जिल्ला पञ्चायतको सदस्य थिएँ । बेथिति बढेपछि म पनि मेला बन्द गराउन लागे । अब त प्रहरी छ, बेथिति छैन । सबै पढेलेखेका छन् । फेरि मेला शुरु भएछ । खुशी लाग्यो ।”

पन्ध्र दिनसम्म लाग्ने भानुमति मेलामा छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, उदयपुरलगायतका दर्शनार्थी तथा व्यापारीहरुले मेला भर्ने गरेको भानुमति खुट्टेश्वर धार्मिक मेला आयोजक समितिको अध्यक्ष शिवप्रसाद फुयालले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्र सावाखोलामा पर्ने भानुमतिमा जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले मेला शुरुवात गराएको हो ।

प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमतिको पर्यटन प्रवद्र्धन गर्न भन्दै ती गाउँपालिकाले मेलाको शुरुवात गरिएको बताएको छ । मेलाको उद्घाटन निवर्तमान सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गर्नुभएको छ ।

मेला उद्घाटन कार्यक्रममा खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई, उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, उपप्रमुख खड्काको उपस्थिति रहेको थियो । भानुमतिमा लागेको धार्मिक मेलामा भक्तजन तथा दर्शनार्थीको भीड लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

भानुमतिमा खुट्टेश्वर महादेव उत्पन्न भएर बसेको बताइन्छ । सत्य युगमा दक्ष प्रजापतिकी जेठी छोरी हुन्छिन् । ३३ कोटी देवतालाई दक्ष प्रजापतिले सबै छोरीको कन्यादान गर्छन् । तर, सत्यदेवीलाई घरको रेखदेख गर्न छोरा नभएका कारण दक्ष प्रजापतिले राख्छन् । सोही बखत सत्यदेवीलाई श्रीमहादेव विहे गर्न भनि कन्यादान माग्न आउँछन् ।

सत्यदेवी घरको छोरोको रुपमा राखेको भनेर दक्ष प्रजापतिले श्रीमहादेवलाई कन्यादान गर्दैनन् । उल्टै महादेवलाई गलहत्याएर घरबाट निकाली दिन्छन् । त्यसपछि विष्णु भगवानले आफूलाई कन्यादान गर्न भनि दक्ष प्रजापतिसँग सत्यदेवीलाई मागी छल गरेर श्रीमहादेवसँग विहे गराइ दिन्छन् ।

दक्ष प्रजापतिले सत्यदेवीलाई श्रीमहादेवले विहे गरेको थाहा पाएपछि आफ्नो घरमा ३३ कोटी देवतासँगै सारा देवतालाई आफ्नो महायज्ञमा निम्तो गरेको तर, श्रीमहादेवलाई भाङ, धतुरो खाने, बागको छाला ओड्न, खरानी घस्ने, साँडे गोरुमा चडेर हिड्ने बहुलाजस्तो भनेर जेठी छोरी सत्यदेवी र ज्वाइ श्रीमहादेवलाई निम्तो गर्दैनन् ।

आफ्ना पिता दक्ष प्रजापतिले महायज्ञ गरेको सत्यदेवीले थाहा पाएपछि आफ्नो माइती घरमा आएर उनले दक्षप्रजापतिले आयोजना गरेको महायज्ञको अग्नीकुण्डमा हाम फालेर आत्मा हत्या गर्छिन् । त्यसपछि श्रीमहादेव पागल भइ सत्यदेवीको मृत शरीरलाई काँधमा हाली संसार घुम्छन् । त्यसपछि सत्यदेविको एकपछि अर्को गर्दै शरीरका सम्पूर्ण अङ्गहरु पतन हुँनेक्रममा भानुमतिमा सत्यदेवीको बाँया खुट्टा पतन हुन्छ । जहाँ–जहाँ सत्यदेवीका अङ्गहरु पतन भएका छन् । त्यहाँ–त्यहाँ श्रीमहादेव उत्पन्न भएको श्रीस्वस्थानी वर्त कथाको पुस्तकमा उल्लेख छ ।

भानुमतिमा सत्यदेवीको देब्रे खुट्टा पतन भएपछि त्यहाँ खुट्टेश्वर महादेव उत्पन्न भएको स्वस्थानीको पुस्तकमा उल्लेख छ । भानुमतिमा हरेक वर्षको पुस मसान्तदेखि माघ–१ गतेसम्म मकर नुहाउँने चलन पनि छ । साथै भानुमति मृत शरीरहरुको दाह सत्कार गर्ने मुख्य थलोको रुपमा रहेकोले दिबङ्गत आत्मा र आफ्ना पितृहरुको लागि रुद्री पाठलगायतका पूजाआजा लगाउने गरिन्छ ।

भानुमतिको दर्शन गरे रोगब्याधी नलाग्ने, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने लगायतका जनविश्वास छ । भानुमति जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थलकारुपमा रहेपछि सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा परेको छ ।

तपाईको प्रतिक्रिया