खोटाङ, ७ फागुन । साकेला गाउँपालिकामा पालिकास्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं. ४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले गाउँपालिकाभित्र भइरहेका हरेक विकासको आयोजनालाई समयभित्रै गुणस्तरीय कार्य गराउन पटक-पटक खबरदारी गरिरहेको बताउनुभएको छ । “खेलकुद क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउन गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “छनौट भएका खेलाडीलाई बिगतमा जस्तो अवसरबाट वञ्चित गराइने छैन । जिल्लास्तरमा हुने खेलमा सहभागिताका लागि आफ्नो कार्यकालभरी पठाउनेछु ।”
गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा विभिन्न छवटा विद्यामा ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस पटकको रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जिम्मा सिद्धेश्वरी मावि खिदिमाले पाएको छ ।
प्रतियोगितामा भलिबलतर्फ छात्रछात्रा, हाईजम्प छात्रछात्रा, लङजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौडको खेल हुने जनाइएको छ । प्रतियोगितामा १८ वटा इभेन्टमा स्वणर्, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगिताका विजेताले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने बताइएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले सशर्त कार्यक्रममार्फत रु एक लाख उपलब्ध गराएको छ । भौगोलिक विकटता तथा महङ्गीका कारण रु एक लाखले प्रतियोगिता गराउन सम्भव नभएपछि गाउँपालिकाले अपुग रकम उपलब्ध गराएको जनाइएको छ ।
गाउँपालिकाबाट विनियोजित बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन/जान तथा अन्य व्यवस्थापन खर्च उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो । दूरीको आधारमा रु २५ हजारदेखि रु ३० हजारसम्म प्रति विद्यालयलाई खाजा खर्च बापत रकम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिता मङ्गलबार सक्ने लक्ष्य राखिएको आयोजक विद्यालयका प्रधानाध्यापक युवराज कटवालले बताउनुभयो । प्रतियोगिताका स्वणर् पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो ।
जिल्लास्तरीय राष्ट्रपति प्रतियोगिता कहिलेबाट शुरु हुने टुङ्गो लागेको छैन । गाउँपालिका प्रमुख राईको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् पतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’को प्रमुख आतिथ्यतामा उद्घाटन भएको रनिङ शिल्ड प्रतियोगितामा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, गाउँपालिका उपप्रमुख बिर्सिका राई, निवर्तमान गाउँपालिका प्रमुख, उपप्रमुख, सबै वडाका वडाध्यक्ष, राजनीतिक दल, शिक्षक तथा बुद्धिजीवी लगायतको उपस्थिति थियो ।