दिक्तेल-रतन्छा-मानेभञ्ज्याङ नियमित बस सेवा सञ्चालनमा

Halesi Khabar
0 Shares

खोटाङ, ११ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित बस सेवा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रा.लि.को बसमार्फत आज (बिहीबार)बाट उक्त सडकखण्डमा नियमित सेवा सञ्चालन गरिएको हो ।

दिक्तेलबाट ३९ किलोमिटर लामो उक्त सडकखण्डमा नियमित बस सञ्चालन गर्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, यातायात व्यवसायी लगायतका टोली मानेभञ्ज्याङ पुग्नुभएको थियो । नियमित बस सेवा सञ्चालनका लागि परीक्षण गर्न गएको टोलीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई लगायत स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

नियमित बस सञ्चालनका लागि गरिएको परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त सडकखण्डमा चल्ने बसको भाडादरसमेत कायम गरेको छ । कायम गरेको भाडादर अन्तरगत साकेला गाउँपालिका-२ रतन्छाको सुर्के सिलापादेखि दिक्तेलसम्म रु ५००, नैनेपाटी, स्कूल एरिया, मबु, यातिम्छा चौकदेखि दिक्तेलसम्म रु ४५० र यातिम्छा चौक, पिनालाखा र साल्मेदेखि दिक्तेलसम्म रु ४०० भाडादर कायम गरिएको छ ।

यस्तै, लामदुवाली-दिक्तेल रु ३७०, चम्पा-दिक्तेल रु ३५०, चिउरीडाँडा दिक्तेल रु ३००, दुम्ली-दिक्तेल रु २६०, रुवाबु-दिक्तेल रु २४०, च्यानडाँडा-दिक्तेल रु १८० र मोहोरिया-दिक्तेल रु १३० भाडादर कायम गरिएको छ । उक्त रुटमा नियमित रुपमा बस सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोलमा सँधैभरी यातायात सञ्चालन हुनेगरी मर्मत सम्हार र विस्तार गर्ने सम्झौता भएको छ ।

दिक्तेलदेखि रतन्छासम्म समान ढुवानी गर्नका लागि एकजना व्यक्तिको दश केजीसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकेजी रु ४ का दरले भाडा लाग्ने निणर्य भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । उक्त स्थानसम्म चामल तथा दाल ढुवानी गर्दा प्रतिबोरा रु १०० लिने निणर्य गरिएको छ ।

गाउँपालिकाको कार्यालय मानेभञ्ज्याङमा भएको बैठकलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले नागरिकको सहजताका लागि स्थानीय सरकार सकारात्मक भएको र जस्तो सुकै समस्यालाई पनि सहज तवरबाट समाधान गर्नेतर्फ संवेदनशील भएको बताउनुभएको छ । बैठकमा खोटाङ यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष फडिन्द्रकुमार राई, महासचिव हिङमाङ, कोषाध्यक्ष गोविन्दबहादुर कटवाल लगायत यातायात व्यवसायी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया