वडास्तरीय फुटबल प्रतियोगिता : नेर्पा र खार्मी फाइनल प्रवेश

Halesi Khabar
0 Shares

खोटाङ, १२ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को तेस्रो सँस्करणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा र सोही नगरपालिकाको वडा नं.-११ खार्मी फाइनल प्रवेश गरेका छन् । सोल्मास्थित सोल्मा स्पार्टस् क्लबको खेलमैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेललाई २-० ले हराउँदै नेर्पा तथा दोस्रो सेमिफाइनल खेलमा केपिलासगढी गाउँपालिका-४ बाक्सिलालाई ट्राइब्रेकरमा हराउँदै खार्मी फाइनल प्रवेश गरेका हुन् ।

सेमिफाइनलको पहिलो खेलमा नेर्पाका जर्सी नं. ८ का खेलाडी विशाल पाण्डेले पहिलो हाफभन्दा अगाडि नै दुई गोल गरेका थिए । दोस्रो हाफमा समेत दिक्तेलका खेलाडीले गोल फर्काउन नसकेपछि नेर्पाका लागि उक्त दुई गोल नै निणर्ायक बनेको हो ।

नेर्पा र दिक्तेलबीचको सेमिफाइनल खेलमा दिक्तेलका खेलाडी र असिस्टेन रेफ्री विजय राईबीच हात हालाहालसमेत भएको थियो । पहिलो हाफको अन्तिम समयमा बल आउट भएपछि रेफ्रीले सङ्केत गर्दा दिक्तेलका जर्सी नं. ४ का खेलाडी जीतेन्द्र राईले रेफ्रीमाथि हात हालेपछि दर्शकले प्रतिकार गर्दा जीतेन्द्र सामान्य घाइतेसमेत भएका छन् ।

टाउको लगायतमा चोट लागेका जीतेन्द्र र असिस्टेन रेफ्री विजयलाई मुख्य रेफ्री महेश मल्लिकले रेडकार्ड दिएपछि मैदानबाट बाहिरिएका जीतेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जीतेन्द्र बाहिरिएपछि दिक्तेलले दशजना खेलाडीमा सीमित रहेर निर्धारित समय पार गरेको थियो ।

उता, खार्मी र बाक्सिलाबीच भएको दोस्रो सेमिफाइनल खेल गोलरहित बराबरीमा टुङ्गिएपछि ट्राइब्रेकरमार्फत छिनोफानो गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । दुवै टिमका पाँच/पाँचजना खेलाडीले पेनाल्टी सुटआउट गर्ने सहमतिअनुसार बाक्सिलाका जर्सी नं. १४ का खेलाडी सञ्जिव मगरको सुट असफल हुँदा खार्मी फाइनल प्रवेश गरेको हो ।

बिहीबार भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजक सोल्मा स्पोर्टस् क्लबलाई ४-० ले हराउँदै नेर्पा सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बिहीबार नै भएको क्वाटर फाइनलको अन्तिम खेलमा खोटेहाङ गाउँपालिका-६ इन्दे्रणीपोखरीलाई ३-१ ले हराउँदै खार्मी सेमिफाइनल प्रवेश गरेको थियो ।

यसअघि बुधबार भएको क्वाटर फाइनल खेलमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडालाई ट्राइब्रेकरमा हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बुधबार नै भएको क्वाटर फाइनलको दोस्रो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङलाई २-१ ले हराउँदै केपिलासगढी गाउँपालिका-४ बाक्सिला सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि (शनिबार) दिउसो १ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो ।

प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ । जिल्लाका १८ टिमको सहभागिता रहेको वडास्तरीय फुटबल प्रतियोगिता समापनको अवसरमा एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ ।

खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले दोस्रो सँस्करण वि.सं. २०७५ वैशाखमा सञ्चालन गरेको थियो । दोस्रो सँस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलले उचालेको थियो ।

प्रतियोगिताको उद्घाटनसत्रमा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूणर् खेल बराबरीमा टुङ्गिएको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको हो ।

सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । सोल्मा स्पार्टस् क्लबको खेलमैदान मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ ।

तपाईको प्रतिक्रिया