खोटाङ, १४ फागुन । उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लामा वार्षिक रु १५ अर्बको आयत हुँदा रु २५ करोड बराबरको मात्रै निर्यात हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । वाणिज्य सङ्घको २५ औँ साधारणसभा तथा ११ औँ जिल्ला अधिवेशन उद्घाटनसत्रमा सङ्घका अध्यक्ष उपिनकुमार राईले जिल्लामा वार्षिकरुपमा हुने आयात र निर्यात सम्बन्धी तथ्याङ्क शनिबार सार्वजनिक गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा रहेका युवाले वार्षिकरुपमा पठाउने रु दश अर्ब बराबरको रेमिट्यान्सले जिल्लाको अर्थतन्त्र धान्नुपर्ने अवस्था रहेको अध्यक्ष राईले बताउनुभयो । “जिल्लामा वार्षिक रु १५० करोडको मदिरा भित्रिने गरेको तथ्याङ्कले देखाएको छ”, उहाँले भन्नुभयो, “अलैँची, जडिबुटी, खसी÷बोका, भेनियर (प्लाईका लागि उत्पादित कच्चा पदार्थ) लगायतले जिल्लाको निर्यातलाई धान्नुपर्ने अवस्था छ ।”
दश स्थानीय तह रहेको जिल्लामा अलैँची, जडिबुटी, खसी÷बोका, भेनियर; काठ लगायत सीमित वस्तुहरुमात्र रु २५ करोडको हाराहारीमा जिल्ला बाहिर निकासी हुने गरेको वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । वार्षिक रु १३० करोडको खानेतेल, रु १३० करोडको दालचामल, १९० करोडको चाउचाउ बिस्कुट, रु १५० करोडको कपडा तथा जुत्ता, रु ६० करोडको मोबाइल तथा कम्प्युटर, रु ५० करोडको इन्टरनेट रिचार्ज, रु ६० करोडको इन्धन, रु ३० करोडको श्रृङ्गार कस्मेटिक, रु ३०० करोडको निर्माण सामग्री आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।
सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सिमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलब्ध रोजगारीको हिस्सा ठूलो रहेको वाणिज्य सङ्घले जनाएको छ । जिल्ला प्राकृतिक श्रोत साधनले सम्पन्न भए पनि पूर्वाधार अभाव र योजनागत विकासको काम सुस्त हुँदा विकास र आर्थिक सूचकमा पछाडि देखिएको अध्यक्ष राईले बताउनुभयो ।
उत्पादनमुलक उद्योग तथा पर्यटन क्षेत्रको विकास हुन नसक्दा जनसङ्ख्याको ठूलो हिस्सा परम्परागत निर्वाहमुखी खेती प्रणालीमै आवद्ध हुन बाध्य रहेको जनाइएको छ । युवा जनशक्ति वैदेसिक रोजगारमा गई उनीहरुद्धारा पठाइने वार्षिक रु १० अर्ब रेमिट्यान्सबाट नै जिल्लाको अर्थतन्त्र चलायमान भएको तथ्याङ्कले देखाएको छ ।
वाणिज्य सङ्घको अधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जिल्लाको विकासका लागि आग्रहपूर्वाग्रह त्यागेर खोटाङ बनाउन लागिपर्न आग्रह गर्नुभएको छ । “वार्षिक रु २५ करोडको निर्यात हुँदा १५ अर्बको आयत हुनु जिल्लाका लागि राम्रो सङ्केत होइन”, उहाँले भन्नुभयो, “खोटाङ अघि बढेमात्र हामी अघि बढ्न सक्छौँ । आग्रहपूर्वाग्रह राखियो भने विकास सम्भव छैन । खोटाङ बनाउन सबै आ–आफ्नो ठाउँबाट लागिपरौँ । विकास सम्भव छ ।”
जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर वाणिज्य सङ्घको सचिवालय भवनसमेत उद्घाटन गरिएको छ । भाडाको घरमा कार्यालयको कामकाज गर्दै आएको वाणिज्य सङ्घले रु ५६ लाख २३ हजारमा निर्माण गरेको एकतले भवन कार्यक्रमका प्रमुख अतिथि पासाङले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।
वाणिज्य सङ्घको नयाँ पदाधिकारी फागुन–२३ गतेसम्ममा चयन गर्नुपर्ने जनाइएको छ । साधारणसभामार्फत सर्वसहमतिमा पदाधिकारी टुङ्गो नलागे सोही दिन मतदान हुने आयोजकले जनाएको छ ।
वाणिज्य सङ्घको नयाँ नेतृत्व (अध्यक्ष)का लागि पाँच जना आकाङ्क्षी देखिएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशी, वर्तमान प्रथम उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, राजन सैंजु र रोहित सैंजु छन् ।