विराटनगर : नामकरणको विषयमा आलोचना खेप्दै आएको १ नम्बर प्रदेशले ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गर्ने भएको छ । राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ ।
केही समयदेखिको निरन्तर दलहरुका नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामाकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ । बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ ।
छलफल र बैठकमा सहभागी नेताहरूले जो जो छलफल बसेको हो सूचना नचुहाउने सहमति भएकोले विषयलाई गोप्य राखिएको नेकपा माओवादीका एक नेताले बताए । पत्रकारले थाहा पाउँछन् भनेर नेताहरूले छलफलसमेत गोप्य राखेका थिए भने थाहा पाएका पत्रकारलाई समेत बाहिर नल्याएर सहजीकरणका लागि अनुरोध गरेका थिए । नेकपा माओवादीका एक नेताका अनुसार कुनै नाटकीय परिवर्तन नभए बुधबार राती ८ बजेसम्म भएपनि नाम टुंगिने छ ।
नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।
मंगलबार माओवादीका प्रदेश अध्यक्ष , केन्द्रिय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्तिथिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको छ ।
माओवादीले कोसी नाममा समेत सहमति जनाउने रणनीति लिएको छ । नेकपा एमालेले भने मंगलबार निर्देशानात्मक संसदीय दलको बैठक गरेको थियो । धेरै हल्ला नगरी एमालेले बैठक गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाएका थिए । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आएका थिए ।
नाटकीय परिवर्तन नभए प्रदेशको नाम कोसी हुने सम्भावना बलियो छ । प्रदेश १ मा सबै सांसद आदिवासी जनजाति भएका नेकपा समाजवादी पार्टीले पहिचान सहितको नाम प्रदेशसभामा दर्ता गराउने तयारी गरेको सा्रेतले बतायो ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्विकार गर्दै यदि सभामा नामको प्रस्ताव आएमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिए ।
यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो । चुनावको मुखमा नामकरण टुंग्याउँदा दलहरुले आफ्नो भोटमा असर पर्छ भन्दै त्यसबेला नामकरणको विषयलाई प्रदेशसभामा प्रवेश गराएका थिएनन् । प्रदेशको राजधानी र नामकरण एकैपटक टुंग्याउने तत्कालीन मुख्यमन्त्री शेरधन राईको प्रयास पनि सफल भएको थिएन् । अहिले दलहरु प्रदेशसभाको सुरुमै नाम टुंग्याउँदा सजिलो हुने महशुस गरेपछि यसमा सहमत भएका हुन् ।
कसले कसरी नाम प्रदेशसभामा लैजाने भन्ने सहमति लगभग टुंगो लागे पनि सर्वदलीय छलफल पछि मध्यान्ह बस्ने बैठकमा प्रक्रिया पूरा गरेर नाम प्रवेश गराइने बताइएको छ । पूर्वेलि प्रेेेशबाट साभार