खोटाङ, १८ फागुन । साकेला गाउँपालिकाले वडा नं.–५ मात्तिमका कृषकका लागि कफी खेती तालिम दिएको छ । गाउँपालिकाले व्यवसायिक कफी खेती विकास गर्न गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत वडा नं. ५ मात्तिमस्थित कात्तिकेमा तीन दिने कफी खेती तालिम आयोजना गरेको हो ।
प्राविधिक सीप विकास अन्तरगत आयोजना गरिएको तालिममा ४० जना कृषकको सहभागीता रहेको थियो । साकेला गाउँपालिका–२ रतन्छामा पनि कफी खेती तालिमको आयोजना गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनन्त ढकालले बताउनुभयो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख रप्रिकाश राईले यसअघि कृषिमा गरिएको लगानी खेर गएको र आगामी दिनमा कार्यविधि बनाएर बीउपूँजीको रुपमा कृषकलाई अनुदान उपलब्ध गराईने बताउनुभयो । “यसअघि कृषि क्षेत्रमा गरिएका लगानी बालुवामा पानी भएको छ”, उहाँले भन्नुभयो, “बाख्रा पालन, राँगा पालन, कुखुरा पालन लगायतका क्षेत्रमा गरिएका लगानीले अहिले खोरमात्र बाँकी छ । आगामी दिनमा यस्तो हुन नदिन कार्यविधि बनाएर लागू गरिन्छ ।”
अहिलेको विश्वबजारमा कफीको राम्रो माग रहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “नेपालमै टिप्न बित्तिकैको ग्रेडको चेरी प्रतिकेजी रु ९५ र ग्रेडको चेरी रु ८५ मा बिक्री हुने गरेको छ । त्यस्तै पार्समेन्ट ग्रेडको कफीको प्रतिकेजी मूल्य रु ४७५ र ग्रेडको मूल्य रु ४२० पर्छ”, उहाँले भन्नुभयो, “ग्रिनवीन गुणस्तर अनुसार प्रतिकेजी रु दुई हजार मूल्य भएकाले कफी खेती प्रवद्र्धनमा गाउँपालिकाले लगानी गर्ने योजना बनाएको हो ।”
हाल साकेला गाउँपालिका–२, ४ र ५ का बेँसी क्षेत्रमा बसोबास गर्ने किसानले स्वतःस्फुर्त रुपमा कफी खेती गर्दै आएका छन् । कतिपय किसानले कफी खेतीबाट मनग्ये आम्दानीसमेत गर्न थालेका छन् ।
एकै घरमा २०० बोट कफी रोपेका छन् । तालिमपछि कफी खेतीबाट राम्रो आयआर्जन गर्न सकिने किसान आशावादी छन् । तालिम समापनको क्रममा किसानलाई कृषि प्रयोग हुने औजारसमेत हस्तान्तरण गरिएको जनाइएको छ ।