खोटाङ, १८ फागुन । कोशी प्रदेशको विरुद्ध आन्दोलनमा उत्रिएका खोटाङका पहिचान पक्षधरहरुले जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने तथा जिल्लामा हुने कार्यक्रमहरुमा निषेध गर्ने भएका छन् । प्रदेशसभाबाट १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको विरोधमा उत्रिएका उनीहरुले खोटाङ प्रदेशसभा-१ (क)का प्रदेशसभा सदस्य पाँचकणर् राई ‘पिके’ र खोटाङ प्रदेशसभा-२ (ख)का प्रदेशसभा सदस्य भूपेन्द्रकुमार राईलाई जिल्ला प्रवेशमा रोक लगाउनुका साथै जिल्लामा हुने कार्यक्रमहरुमा निषेध गर्ने चेतावनी दिएका हुन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङ, किराँत राई यायोक्खा खोटाङ, नेपाल मगर सङ्घ खोटाङ लगायतका पहिचान पक्षधरहरुको संयुक्त भेलाले कोशी प्रदेशको पक्षमा उभिएका जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयहरुमा कालो झण्डा राख्ने लगायत सङ्घर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै एक नम्बर प्रदेशलाई किराँत प्रदेश नामाकरणका लागि चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
दिक्तेलस्थित भवनगैरामा भएको पहिचान पक्षधरहरुको भेलाले रविन खम्बुको नेतृत्वमा संयुक्त सङ्घर्ष समन्वय समितिसमेत गठन गरेको छ । नेकपा (माओवादी केन्द्र) खोटाङका सदस्य खम्बुको नेतृत्वमा गठन गरिएको १०१ सदस्यीय संयुक्त सङ्घर्ष समन्वय समितिको सहसंयोजकमा एलबी मगर र सचिवमा युगशन किराँत रहनुभएको छ ।
संयुक्त सङ्घर्ष समितिले पहिचान विरोधी हर्कतमा उत्रेर आम समुदायमाथि निरङ्कुशता लाद्ने काम गरेको भन्दै प्रदेशका मुख्यमन्त्री, सरकारमा आवद्ध राजनीतिक दलका संसदीय दलका नेता तथा प्रतिपक्षमा रहेर पनि षड्यन्त्रमा सामेल हुने संसदीय दलका नेताहरुको राजीनामा मागेको छ । “नेपालको संविधान २०७२ को मुल मर्म र भावनामा रहेर मुलुक सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रको जगमा उभिरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताले लडेका शान्तिपूणर् तथा सशस्त्र ऐतिहासिक आन्दोलनको जगमा उठेको वर्तमान राजनीतिक उपलब्धिका रुपमा उठेको पहिचानसहितको सङ्घीयताको उपभोग गर्ने अधिकार सम्पूणर् नेपाली जनतासँग रहेको छ । यसलाई कुण्ठित पार्ने हर्कत कुनै पनि हालतमा स्वीकार्न सकिन्न । चरणवद्ध आन्दोलनमार्फत निस्तेज पारिन्छ ।”
कोशी प्रदेश नामाङ्कनको विरोधमा किराँत राई यायोक्खा खोटाङले दिक्तेलमा आज (बिहीबार) दुई घण्टा चक्का जामसमेत गरेको थियो । यायोख्खाको नेतृत्वमा दिक्तेलस्थित किराँत चोकमा भेला भएका पहिचान पक्षधर आन्दोलनकारीहरुले बिहान ११ बजेदेखि एक बजेसम्म चक्का जाम गरेको हो ।
पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोशी प्रदेश नामाङ्कन गरिएकाले आन्दोलन गरिएको यायोक्खाका अध्यक्ष युगसन किराँतले बताउनुभयो । यायोख्खाले चक्का जामपछि खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
कोशी प्रदेशलाई खारेज गरी पहिचानको आधारमा किराँत प्रदेश नाम राख्न माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष किराँतले बताउनुभयो । अधिकारलाई कुण्ठित गर्ने दुरासयका साथ मिति २०७९ फागुन-१७ गते प्रदेश सरकारले छापामार शैलिमा प्रदेशको नामाकरण गरेको प्रति हाम्रो घोर आपति भएकाले सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको यायोख्खाले जनाएको छ ।