खोटाङ, २० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किराँत ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशतगरी भ्याटसहित रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराँती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको पार्क निर्माणको काम शुरु गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सम्झौता अनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इन्जिनियर राजन पुँडासैनीले जानकारी दिनुभयो । “निर्माणाधीन यलम्बर पार्कको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अहिले यलम्बर राजाको शालिक राख्ने ठाउँको काम गरिरहेका छौँ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।”
निर्माणाधीन यलम्बर पार्कमा आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट प्रवेशद्धार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना यसअघि उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।
पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा उपलब्ध हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभएको छ । चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण शुरु गरिएको पञ्चदोबाटोको यलम्बर पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।
पार्कमा राखिने किराँती प्रथम यलम्बर राजाको शालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवम् तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल राईले बताउनुभयो । “भक्तपुरस्थित निकोसेरामा तीन रोपनी जग्गा भाडामा लिएर दक्ष कालीगढहरुलाई शालिक निर्माणको काम लगाएका छौँ”, उहाँले भन्नुभयो, “ निर्माणाधीन यलम्बर पार्कमा स्थापना गरिने फाइवर प्रयोग गरेर निर्माण गरिने यलम्बर राजाको १०० फिट अग्लो शालिकको अहिले टाउको बनाउने काम भइरहेको छ । आगामी चैत मसान्तसम्म पार्क निर्माणस्थलमा ल्याएर स्थापना गरिसक्छौँ ।”
नगरपालिकाको गौरवको आयोजना अन्तरगत राखिएको यलम्बर पार्कको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्नेगरी दुई पक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्नसमेत सहज हुनेगरी निर्माणस्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोस्रो ठूलो व्यापारिक केन्द्र एवम् शुक्रबार हटिया लाग्ने ऐतिहासिकस्थल पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क निर्माणको काम करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । तीस रोपनी सरकारी जग्गामा निर्माण शुरु गरिएको यलम्बर पार्क व्यवस्थित तथा आधुनिक किसिमको हुने नगरपालिकाले जनाएको छ ।
किराँत समुदायको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराँती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको पार्क निर्माणको काम शुरु गरिएको निवर्तमान नगरप्रमुख एवम् नेकपा (एमाले)का उपसचिव दीपनारायण रिजालले बताउनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण शुरु गरिएको यलम्बर पार्क नगरपालिकाको आम्दानीको श्रोतको रुपमा विकास गर्नेगरी निर्माण शुरु गरिएको हो ।
आफ्नो क्षेत्रमा किराँती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयबासीसमेत हर्षित भएका छन् । किराँत ऐतिहासिकस्थल बुइपामा किराँती राजा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको पार्क निर्माण भएपछि पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।
हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण शुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने जनाइएको छ । यलम्बरपार्कदेखि किराँत सभ्यताको उद्गमथलो हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्गसमेत निर्माण गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।
नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बरपार्कलाई महत्वका साथ हेरिएको छ । पञ्चदोबाटोमा निर्माणाधीन अवस्थामा रहेको यलम्बर पार्कमा राखिएको जोडी वाबु (चिण्डो) निक्कै आकर्षक देखिएको छ ।