खोटाङ, २१ फागुन । देशभरका चाम्लिङ राईहरुको भाषिक सम्मेलन खोटाङमा शुरु भएको छ । चाम्लिङ राईहरुको भाषा तथा सँस्कार/सँस्कृति संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभम् फाउण्डेशनमा तीनदिने सम्मेलन शुरु गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको सम्मेलनमा डा. तारामणि राई, प्राज्ञ जयकुमार राई, मुन्दुम अध्यता भोगिराज चाम्लिङ र किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषा सम्बन्धी कार्यपत्र पेश गर्नुभएको छ । सम्मेलनमा सहभागी देशभरका चाम्लिङ राईहरुबीच समूह विभाजन गरेर विज्ञबाट प्रस्तुभएका कार्यपत्रमाथि छलफल शुरु गरिएको खाम्बातिमका महासविच तेजकुमार राईले जानकारी दिनुभयो ।
सामुहिक छलफलपछि चाम्लिङ राईहरुले प्रयोग गर्दै आएका भाषा सम्बन्धी एउटै धारणा बनाउने कार्ययोनासमेत रहेको खाम्बातिमले जनाएको छ । सम्मेलनमा खाम्बातिमका महासचिव तेजकुमार राईबाट चाम्लिङ राईहरुको साङ्गाठानिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्मेलन उद्घाटन समारोहमा किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिले प्रकाशन गरेको स्मारिकासमेत विमोचन गरिएको छ । किरात राई चाम्लिङ भाषी र साँस्कृतिक पक्ष, चाम्लिङ मातृभाषा शिक्षणका सन्दर्भ, भाषामा यसका अनुकूलन र प्रयोग, चाम्लिङ राईहरुको सामै/सामे र पाछा, राई जातिका मौलिक सँस्कृति, चाम्लिङ विवाह तथा मृत्यु सँस्कार, चाम्लिङ राईहरुको भाषा तथा सँस्कार/सँस्कृति संरक्षण एवम् सम्वद्र्धन लगायतका विषय समेटिएको स्मारिका विमोचन गरिएको हो ।
सम्मेलन उद्घाटन समारोहमा खोटाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, नछुङ (धामी), मुन्दुमी लगायतलाई सम्मानसमेत गरिएको छ । सम्मेलनमा कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, कृषिविज्ञ मदन राई, चाम्लिङ राई खाम्बातिमका सल्लाहकार मणिकुमार राई लगायतले भाषा तथा सँस्कार/सँस्कृति सम्बन्धी आ-आफ्नो धारणा राख्नुभएको थियो ।
चाम्लिङ राईको उद्गमस्थल खोटाङ जिल्लाका विभिन्न विद्यालयहरुमा चाम्लिङ राई भाषाको पाठ्यक्रम पठन/पाठन हुँदै आएको छ । चाम्लिङ राईहरुको बाहुल्यता रहेका अन्य ठाउँहरुमा सञ्चालित विद्यालयहरुमा चाम्लिङ भाषामा निर्मित पाठ्यक्रम लागू गर्न जनप्रतिनिधिहरुसँग समन्वय गर्ने विषयमा समेत कार्यक्रम बनाइने जनाइएको छ ।
सम्मेलन समापनपछि जिल्लास्थित किराँत ऐतिहासिकस्थलहरु तुवाचुङ-जायाजुम, मझुवागढी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित साकेला थान लगायतका ठाउँहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित त्रिधार्मिकस्थल हलेसी नजिकै पर्ने तुवाचुङ-जायाजुम किराँत राईहरुको उद्गमस्थल मानिन्छ ।