खोटाङ, २१ फागुन ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा यहि फागुन–२७ गतेबाट ‘दिक्तेल मेयर कप’ अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९ सञ्चालन हुने भएको छ । खेल क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले ‘दिक्तेल मेयर कप’ अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
दिक्तेल मेयर कप फुटबलको चौथो सँस्करण अन्तरगत सञ्चालन हुन लागेको प्रतियोगिताको पहिलो खेल साकेला फुटबल क्लब रतन्छा र नमूना स्पोर्टस क्लब लफ्याङबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको दोस्रो खेल आयोजक केएफए र सोल्मा स्पोर्टस क्लब सोल्माबीच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।
फागुन–३० गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको तेस्रो खेल खकलुङ युनाइटेड क्लब बास्पानी र नेर्पा स्पोर्टस क्लब नेर्पाबीच तथा चौथो खेल दिक्तेल फुटबल क्लब दिक्तेल र माटीकोरे सामाजिक सेवा समाज दिक्तेलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लास्थित आठवटा फुटबल क्लबको मात्र सहभागिता रहने आयोजक केएफएले जनाएको छ ।
प्रतियोगिताको विजेता क्लबले नगद रु एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष नूरकाजी सैंजुले बताउनुभयो । प्रतियोगिताको उपविजेता क्लबले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा गोल्डेन ग्लोब्स, गोल्डेन बल र गोल्डेन सुज विद्या जित्ने खेलाडीले नगद रु पाँच हजार र म्यान अफ द म्याच हुने खेलाडीले रु एक हजार नगदका साथमा मेडल पाउने जनाइएको छ । प्रतियोगितामा जिल्लाभित्रका खेलाडी तथा अफिसियलहरु मात्रै समावेश गर्न पाइने आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि टिम दर्ता भएपछि खेल त्यागेमा नगद रु एक लाख जरिवानाका साथै प्रतियोगितामा आजीवन प्रतिबन्ध लगाइने आयोजकले जनाएको छ । जिल्लाभित्रका खेलाडीलाई प्रोत्साहन गराउन र स्थानीय क्लबको परिचय गराउँदै क्बललाई स्थापित गराउने लक्ष्यका साथमा प्रतियोगिता गर्न लागिएको हो ।
दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो सँस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो । एकेडेमीले वि.सं. २०७४ सालमा पहिलो र वि.सं. २०७७ सालमा दोस्रो सँस्करण सञ्चालन गरेको थियो ।
‘खोटाङको पहिचान खेलकुदको अभियान’ नाराका साथमा दिक्तेललाई कार्यक्षेत्र बनाएर वि.सं. २०७३ सालमा स्थापना भएको एकेडेमीले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु गराउँदै आएको छ । फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षणसमेत सञ्चालन गरिरहेका छ ।