खोटाङ, २१ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्नुहुन्थ्यो । काठमाडौँको सिनामङ्गलस्थित एयरपोर्टलाइनमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गर्नुभएका सुमनको मासिक आम्दानी रु दुई लाखसम्म हुने गरेको बताइएको छ ।
होटल व्यवसायसँगै छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले वि.सं. २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौँ छिर्नुभएका राई दम्पती वि.सं. २०७२ सालको भूकम्पपछि गाउँ फर्कनुभयो । करिब नौँ वर्ष काठमाडौँ बसेर गाउँ फर्कनुभएका राई दम्पती अहिले बुइपास्थित छिप्तीमा कृषि व्यवसायमा जम्नुभएको छ ।
यलम्बर नमूना कृषि फार्म दर्ता गरेर व्यवसायिक कृषि पेशा अपनाउनुभएका सुमनलाई श्रीमती सविताले समेत साथ दिनुभएको छ । पहिलो चरणमा रु २० लाख लगानी गरेर ७२ रोपनी क्षेत्रफल जमिनमा कागती खेती शुरु गर्नुभएका राई दम्पतीको फार्मबाट अहिले उत्पादनसमेत दिन थालेको छ ।
छिप्तीमा रहेको आफ्नै खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार १०० बोट कागतीको बिरुवा रोप्नुभएको छ । कागती गोडमेल गर्नेगरी राई दम्पतीले खान तथा बाससहित मासिक रु १५ हजार तलब दिएर एक परियार थरका दम्पतीलाई जागिरसमेत दिनुभएको छ ।
बहुउद्देश्यीय फार्म सञ्चालन गर्नुभएका राई दम्पतीले फार्ममा काम परेको समयमा अन्य स्थानीय कामदारसमेत लगाउँदै आउनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसमा आई.ए.सम्म अध्ययन गर्नुभएका राई दम्पतीले उत्पादन गरेका कागती विषेशगरी दिक्तेल बजार र काठमाडौँमा खपत हुँदै आएको छ ।
फार्ममा उत्पादन भएका कागती प्रति केजी रु १५० देखि रु २०० सम्ममा बिक्री हुने गरेको फार्मका प्रबन्धक निर्देशकसमेत रहनुभएका सुमनले बताउनुभयो । “कागतीले उत्पादन दिन थालेको पहिलो वर्ष नै एक हजार २०० केजी बिक्री गरेका थियौँ ! यस वर्ष टिप्न अझै बाँकी छ”, उहाँले भन्नुभयो, “कति फलेको छ भन्ने टिपीसकेपछि मात्र थाहा हुन्छ । बिगत वर्षहरुमा भन्दा यो वर्ष बढी नै उत्पादन भएको छ । बिगत तीन वर्षदेखि कर्मचारी र औषधि उपचार खर्च यही कागतीले धान्न थालेको छ । अबको केही वर्षदेखि कागतीबाटै राम्रो आम्दानी हुन्छ भन्ने लागेको छ ।”
राई दम्पतीको फार्ममा उत्पादित कागती बजारमा पाइने आयातितभन्दा गुणस्तरीय तथा स्वादिलो रहेको उपभोक्ताहरुले बताएका छन् । बुइपामा उत्पादित कागती प्रयोग गरेका उपभोक्ताले बजारमा सोही कागती खोज्ने गरेको व्यापारीहरुले बताएका छन् ।
प्राकृतिक विपत्ति तथा हावापानीको हिसाबले शहरभन्दा गाउँ हजारौँ गुणा राम्रो भएकाले पुनः गाउँ फर्किएर कृषि व्यवसाय शुरु गरेको सुमनको बताउनुभयो । “शहरमा गरिने दुःख आफ्नै गाउँमा गर्दा आनन्द आउँदो रहेछ”, उहाँले भन्नुभयो, “गाउँमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो राखेर अर्काको ठाउँमा परिश्रम गर्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले सुविधासम्पन्न शहरबाट गाउँ फर्कियौँ । अहिले आफैले रोपेको कागतीले आम्दानी दिन थालेको छ । अबको केही वर्षमा कागती नै राम्रो आम्दानीको स्रोत हुन्छ भन्ने आशा जागेको छ ।”
जग्गाजमिन प्रयाप्त भएका राई दम्पतीले व्यवसायिक खेतीसँगै राँगा, सुँगुर र बाख्रासमेत पाल्नुभएको छ । वि.सं. २०७३ सालबाट व्यवसायिक खेती शुरु गर्नुभएका उनीहरुले यस वर्ष थप २५ रोपनी जग्गामा कागतीको नयाँ बिरुवा रोप्ने तयारी गर्नुभएको छ ।
अहिलेसम्म करिब रु एक करोड लगानी गरिसक्नुभएका राई दम्पतीले कागतीसँगै लिची र कफीको समेत व्यवसायिक खेती शुरु गर्नुभएको छ । तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा लगाउनुभएको लिचीसमेत फल्न थालेको छ । यस वर्ष कफीको चार हजर बिरुवा रोप्ने तयारी गरेको सुमनले बताउनुभयो ।
छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यस वर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको हिमाली कफी उत्पादक कृषक समूहका अध्यक्षसमेत रहनुभएका सुमनले बताउनुभयो । “एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव छैन । समूहमा १५ घरधुरी आवद्ध छौँ । सबैले उत्पादन गरियो भने कम्तिमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पदन बाहिर पु¥याउन सकिन्न । त्यसैले सबै घर मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यस पटक निःशुल्क बिरुवा वितरण गर्ने तयारी गरेका छौँ ।”
एक छोरा र एक छोरीका बुबा÷आमा सुमन र सविताले छोरा÷छोरीलाई भने राजधानी काठमाडौँमै राखेर पढाइरहनुभएको छ । छोरी स्मारिक बिबिए अध्ययनरत छन् भने, छोरा सुरनजङ राई पढाइ सकेर रोजगारीका लागि बाहिर जाने तयारीमा छन् ।
कृषिका लागि उर्वरभूमि बुइपाका प्राय हरेक घर स्थानीय बासिन्दा केही न केही व्यवसायिक कृषि पेशामा जोडिएका छन् । एक हजार १३७ घरधुरी जनसङ्ख्या रहेको बुइपाका स्थानीय बासिन्दा लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवम् भैँसीपालन व्यवसायमा जोडिएका हुन् ।
कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यवसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “सार्कीडाँडामा यसअघि नै ‘चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट’ निर्माणको काम शुरु गरिएको थियो”, उहाँले भन्नुभयो, “यो आर्थिक वर्षबाट बुइपाका सबै सामुदायिक वनमा कफी र एभोकाडोको व्यवसायिक खेती सञ्चालन गर्ने योजना बनाएका छौँ ।”
कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकालेसमेत व्यवसायिक कृषि पेशा अपनाउने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ । पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ । तस्वीर उपलब्ध छ ।