नारी दिवसमा लैङ्गिक समानताका कुरा

Halesi Khabar
0 Shares

खाेटाङ, २४ फागुन । बलत्कार, अम्ल आक्रमण , छाउपडी, बोक्सी, दमन, यी सबै त छदै छन ।

आफ्नै जातकी, नाममा बिद्याकि देवी, काममा देवीकै मुर्तिले नारी- चेलीको शिरमा हात राखेर दिएका आशिर्वादहरुलाई पनि अलि पर सारौँ ।

आज म नारीकै कुरा गर्छु,
सर्वसाधारण नारीका कुरा ।
“छोरी जता गए पनि साँझ चाहिँ छिट्टै आइज है, एक्लै कहिँ कतै ननिस्कि है भाइलाई साथी लिएर जा । अहिले बनका बाघ नदेखिए पनि, गाउँ, शहर , टोल-टोलमै नङग्रा तिखारेर दाउ हेरेर बसेका हुन्छन आधुनिक जमानाका मानबरुपी बाघहरु । रात पर्न पर्दैन यस्ता बाघलाई, दिउसै आक्रमण गर्न भोकाएका हुन्छन । ”
छोरीको माया र चिन्ताले ब्याकुल आमा जातकी नारी ।

“न काम गर्ने ढङ्ग छ न हिड्ने, बोल्ने ढङ्ग छ । छोराले बिदेशबाट पठाएको पैसाजति उसैलाई चाहिन्छ । रातो, सेतो कस्तो हुन्छ हाम्ले देख्न पाउने होइन । आ म त केही गर्दिनँ कामबाट फर्केर आँफै गर्छे घरको धन्दा । बुहारी हुदाहुँदै मलाई केको खसखस । पस्केर दिइछे भने टि. भि हेर्दै दुई गाँस निल्नुपर्ला ।”

अफिस जाओस वा अरु कुनै काममा घरको धन्दा बुहारीकै पोल्टामा सोच्ने सासू जातकी नारी ।
“ह्या यी बुढाबुढी जति काम गरे नि जस दिने होइनन्, जति बुढेसकाल लाग्यो उति छुच्चो मुख । यीनले कमाएको खाएकी छु र यीनको सबै काम मैले गर्दिनु पर्ने । साँच्चै बिरामी भएर हो कि नाटक पार्छन कुन्नि ? कहिल्यै सन्चो हुने होइन । औषधी किन्दा किन्दै पैसाको खनहरो । बरु आश्रमतिर पठाइदिए हाइसन्चो हुने थियो कि ?”

तिनै आमाले जन्माएको छोरो काखा अनि तिनै बुढी आमालाई पाखा सार्ने बुहारी जातकी नारी ।
“यता घरमा उनकै बाउआमा कचकच गरेर हैरान छ, अनि अर्कि आँउछिन नन्द चाहिँ उनका सासुससुराको ज्यादती सुनाउन । राम्रो व्यवहार गर्न त आफ्नो बानी पनि राम्रो हुनु पर्यो नि । आफू काँहिनभकी कुरौटै चोथाले छिन । अब के आश गरेर माइत आएकी हुन ?

बरु उता मेरा बाआमाले दुःख पाउने भए । भाउजू नि उस्तै चोथाले परिछन । दाइले कमाएको जति सबै आफै कुम्लाइछन । कहिलेकाही माइत जाँदा नि लौ नन्द हजार-पाँच सय बाटा खर्ची भनेर कहिल्यै दिन जान्दिनन । एक नम्बरकी मख्खि चुस ।”
भाउजू अनि नन्द जातकी नारी ।

“आज दैलो पोत्दा अलिकति फुस्रै छोडिछे । यति देख्दा नि सासू ससुरा केही बोल्दैनन । मलाई भएका भए हात थिच्न आँउथे ।
आज डोकाभरी घाँस पनि रहेनछ । पुरै घाँस ठडाएर डोकामाभरि जस्तो देखाएर मात्रै ल्याइछिन जेठानी भनाउदीले, मलाई भने पाइलै पिच्छे खोट लाउँछिन ।

अफिस गँए भनेको छ, घरको काम पुरै मैलाइ लाएको छ, मैले नकमाए पनि मेरा बुढाले त कमाएका छन नि । म सक्दिनँ योसँग बस्न । ”
देउरानी- जेठानी जातकी नारी ।
“मलाई स्वतन्त्रता चाहियो, छोराछोरी तिमी नै हेर, म गोष्ठीमा जान छ, ए अँ आज साथीहरूसंग पार्टी छ अलिकति पैसा पनि दिइराख है ।

अझै पैसा पठाउने बेला भएन ? महिना त हिजै बितिसक्यो त । यहाँ म फिटिफिटि परेकी छु पैसाले । ए अँ तिम्रा बाआमासँग मैले सकिनँ, कि तिमी आउ, कि सम्झाइदेउ ।

गोठका डियाले नि कतै फुस्किन दिदैनन । म त सबै बेच्दिन्छु ।”
कर्तव्य नबुझ्ने तर अधिकार र स्वतन्त्रताको चाह राख्ने श्रीमती जातकी नारी ।

“कपालमा टक्क रंगिन चस्मा अड्याएर, रेसमी सारी सलक्क बगाएर, सभा समारोहमा महिला हक हित शुनिश्चितका गहकिला भाषण छाँट्ने, महिला उत्थानका लागि आफ्नो जीवन नै निम्छावर गर्ने ठुलाठुला गफ गर्ने । बाहिर निस्केपछि कुनै पिडित महिलाले सहयोग माग्यो भने, कस्ता कस्ता पाखेहरु आँउछन भन्दै छिछि दुरदुर गर्ने ।”

महिला अधिकारकर्मी, सामाजिक अभियान्ता जातका नारी ।
“आफुलाइ पर्दा: हेर न त्यो केटोले कस्तो नराम्रो व्यवहार गर्न खोज्यो नि मलाई ।

अरुलाइ पर्दा: आफू गतिली हुन पर्यो नि राम्रो व्यवहार गर्न त, तिघ्रा देखिने कट्टु लाएर मस्किदै र किच्चिदै बोल्छे । केटा देख्नै हुन्न । अनि केटा हुन नि अलिअलि जात त जनाइहाल्छन नि । आफू पनि मर्यादामा बस्नु पर्यो नि, कसैले केही नगर्न त ।” कुरौटे सखी जातका नारी ।

यति त केही उदाहरण केही मात्रै हुन । आफू नारी भएर नारीको सम्मान गर्न नसक्ने कयौं नारीहरु छन । या भनौँ छौँ भनेर ।

जबसम्म यी र यस्तै यावत ब्यबहारबाट मैले आँफुलाइ बाहिर निकाल्न सक्दिनँ तब सम्म “नारी दिवस सफल पारौँ” भन्ने नारा, नारामात्रै रहेर रहन्छ, नाराबाट बाहिर आउन सक्दैनँ, जसरी प्रजातन्त्र शिंहदरबार बाट बाहिर निस्कन सकेन ।
हामी बदलिनु जरुरी छ । म बदलिनु जरुरी छ ।
हाम्रो सोच बदल्नु जरुरी छ । मेरो सोच बदल्नु जरुरी छ ।
#नारी_दिवस_सफल_पारौँ।

लेखक शाेभा बुढाथाेकी ।

तपाईको प्रतिक्रिया