राष्ट्रपतिको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुन्छ : रामकुमारी झाँक्री

Halesi Khabar
0 Shares

खोटाङ, २४ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव रामकुमारी झाँक्रीले भोलि (बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व शहरी विकास मन्त्रीसमेत रहनुभएकी सचिव झाँक्रीले अहिलेको राजनीतिक अस्थिरता राष्ट्रपतिको निर्वाचनपछि अन्त्य हुने र नयाँ राजनीतिक कोर्स शुरु हुने दाबी गर्नुभयो ।

देशमा अहिले देखिएका राजनीतिक अस्थितरताका कारण जनताले सुशासन उपभोग गर्न नपाएको सचिव झाँक्रीले बताउनुभयो । “राष्ट्रपतिको निर्वाचनमा कसलाई भोट हाल्ने भन्ने हाम्रो पार्टीले निणर्य गरिसकेको छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा कसैले पनि एकल सरकार चलाउने अवस्था छैन । देशलाई कसरी चलाउने भन्नेमा गठबन्धन सरकारले मानकहरु तयार गर्नुपर्छ । राष्ट्रपतिको निर्वाचनपछि यी सबै विषयलाई मध्यनजर गरेर गठबन्धन सरकारले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।”

सचिव झाँक्रीले उच्च नैतिकता र सँस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्नेमा जोड दिनुभएको छ । “कतिपय अवस्थामा बाध्यात्मक भए पनि सत्ताका लागि जहाँ जे पायक पर्छ, त्यही गरिरहनु ठीक हुँदैन”, उहाँले भन्नुभयो, “हामीले यस्तो निर्वाचन प्रणाली अबलम्बन गर्‍यौँ । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकही गरिएको असल अभ्यासहरु नैतिकताको कसीमा ठीक पनि लाग्दैन । तर, कतिपय अवस्थामा बाध्यात्मक पनि हुन सक्छन् ।”

एक अर्को प्रशङ्गमा बोल्नुहुँदै सचिव झाँक्रीले अहिले पनि देशमा महिला र पुरुषबीच समान कामको समान ज्याला दिने व्यवस्था कार्यान्वयन नभएको बताउनुभएको छ । “एउटा पुरुषले समान कामको ज्याला रु एक हजार पाउँछ भने, महिलाले त्यही कामको रु ५०० मात्रै ज्याला पाउँदै आएका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा यस्तो विभेद हुनु हुँदैन । समान कामको समान ज्याला दिने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्‍यो । अनि मात्र समानताको नारा लागू भएको मानिनेछ ।”

सचिव झाँक्रीले आफ्नो अधिकार स्थापित गर्न आफू पनि तत्पर हुनुपर्ने बताउनुभएको छ । “हामी महिलाहरु सन्तान जन्माउने र घरभित्रको काम गर्नेमा मात्र सीमित भएर बस्नुहुँदैन । कुनै समय हामी महिलाहरु बोल्यो भने ‘पोथी बास्यो, धुरी कटाउनुपर्छ’ भन्ने समाजबाट हुर्किएर आएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रा अग्रजहरुको त्याग तथा बलिदानीबाट अहिले खेलारुपमा हिँड्न र बोल्न पाएका छौँ । यतिले मात्र हुँदैन । हरेक ठाउँमा आफ्नो समान अधिकार खोज्न हामी आफै अग्रसर हुनुपर्छ ।”

सचिव झाँक्रीले खोटाङको त्रिधार्मिकस्थल हलेसीलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । “खोटाङको हलेसी खोटाङको मात्र नभइ देशकै सम्पती र गौरव हो । यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सके आम्दानीको स्रोत यही छ”, उहाँले भन्नुभयो, “हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास गर्न आफ्नो क्षेत्रबाट गर्नुपर्ने पहल गर्नेछु ।”

त्रिधार्मिकस्थल हलेसीको प्राङ्गण आयोजित कार्यक्रमलाई काँग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई, उपप्रमुख रमेश राउत लगायतले सम्बोधन गर्नुभएको थियो । साँस्कृतिक झाँकीसहित आयोजित कार्यक्रममा नगरपालिकाले स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिधिलाई सम्मानसमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया