खोटाङ, २८ फागुन । १ नं. प्रदेशको नाम ‘कोशी’ राखिएको बिरोधमा आव्हान गरिएको बन्दका कारण खोटाङको जनजीवन प्रभावित भएको छ । यही फागुन–१७ गते १ नं. प्रदेशको नाम ‘कोशी’ राखिएको बिरोधमा गठित ‘संयुक्त सङ्घर्ष समिति’ले आव्हान गरेको बन्दका कारण जिल्लाको जनजीवन आज बिहानैदेखि प्रभावित भएको हो ।
संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन चल्न पाएका छैनन् । चोकचोकमा खटिएका बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइ राखेका छन् ।
आफूहरुले आव्हान गरेको बन्दको समयमा सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साँढे तीन बजेदेखि दिक्तेलको किरातचोकको सडकमा पुगेका थिए । संयुक्त सङ्घर्ष समितिमा आवद्ध बन्दकर्ताहरु दिक्तेलको किरातचोक र अल्छेढुङ्गास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् ।
जिल्लामा सञ्चालित यातायातका सवारी साधन ठप्प हुँदा यात्रु भने मारमा परेका छन् । बन्दकर्ताले दिक्तेल बजारका होटल तथा पसलहरुसमेत पूर्णरुपमा बन्द गराएका छन् ।
दिक्तेल बजारमा सञ्चालित होटल तथा पसल बन्द गराउन बन्दकर्ताको टोली चोकचोकमा खटिएका छन् । उनीहरुको बन्द आव्हानलाई जिल्लामा व्यवसाय गर्दै आएका व्यवसायीले समेत साथ दिएको पाइएको छ ।
दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभावमा परेको पाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा बाहिरका शैक्षिक संस्थामा भने आंशिक प्रभाव परेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
दिक्तेलको तुलनामा अन्य ठाउँमा बन्दको प्रभाव कम देखिएको छ । पहिचानको आधारमा नामाकरण गराउन दबाब सिर्जना गर्न गठित प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको आव्हानमा जिल्लामा बन्द आव्हान गरिएको हो ।
संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको बन्दलाई जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल तामाङ घेदुङ, नेवा देयःदबु, नेपाल तमु छ्योजधी, नेपाल शेर्पा सङ्घ, नेपाल मगर सङ्घ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ खाम्बातिम, किरात साम्पाङ राई जुम्लेखा, दुमी राई फन्सिकिम खोटाङ लगायतले ऐक्यबद्धता जनाएका छन् । पहिचान पक्षधर पार्टी एवम् सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु संयुक्त सङ्घर्ष समितिमा आवद्ध बन्दकर्तासँगै चोकचोकमा खटिएका छन् ।
इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गराउन दबाब सिर्जना गर्न आज एक दिन जिल्ला बन्दको आव्हान गरिएको किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँतले बताउनुभएको छ । “हामीले कसैलाई दुःख दिने नियत होइन । हामीले आफ्नो अधिकार स्थापित गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो अभियानलाई जिल्लाबासीले साथ दिएका छन् । आफूहरुले उठाएको माग राज्यबाट सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।”
पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै ‘कोशी’ प्रदेश राखिएकाले त्यसलाई खारेज गरी ‘किराँत’ प्रदेश नामाङ्कन गर्नुपर्ने माग राख्दै खोटाङमा नेकपा (माओवादी केन्द्र)का युवा नेता रविन खम्बुको नेतृत्वमा छुट्टै सङ्घर्ष समिति गठन गरिएको छ । जिल्लामा गठित संयुक्त सङ्घर्ष समितिले जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने लगायतका आन्दोलन घोषणा गरेको छ ।
जिल्लामा गठित संयुक्त सङ्घर्ष समितिले शनिबार साँझ दिक्तेलमा मसाल जुलुस प्रदशन गरेका थिए । दिक्तेलको बेसक्याम्पदेखि निकालिएको मसाल जुलुस किरात चोक पुगेर समापन भएको थियो ।