खोटाङ, २८ फागुन । खोटाङका दाहाल समयुदायले चन्दा सङ्कलन गरेर प्रतिष्ठानको कार्यालय भवन निर्माण गरेका छन् । देश तथा विदेशमा रहेका दाहाल समुदायका दाताबाट सङ्कलन गरिएको रु २४ लाख ४४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित गैरीगाउँमा प्रतिष्ठानको पक्की कार्यालय भवन निर्माण गरिएको हो ।
सोल्माका स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराउनुभएको छ आना जग्गामा दाहाल प्रतिष्ठानको कार्यालय भवन निर्माण गरिएको दाहाल प्रतिष्ठान खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताउनुभयो । प्रतिष्ठानको कार्यालय भवन वि.सं. २०७७ फागुन-२३ गते शिलान्यास गरिएको थियो ।
कार्यालय भवन निर्माणका लागि जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका २७१ जना दाहाल बन्धुबाट रु २६ लाख ४८ हजार ९७२ रकम सङ्कलन भएको जनाइएको छ । भवन निर्माणका लागि रु १०० देखि रु एक लाख ११ हजार १११ सम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
दाहाल प्रतिष्ठान शाखा खोटाङको पहलमा निर्माण गरिएको भवन प्रतिष्ठानका केन्द्रीय सदस्य सीताराम दाहालले शनिबार औपचारिकरुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ । कार्यालय भवन उद्घाटनका क्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मानसमेत गरेको छ ।
प्रतिष्ठानको तीनतले भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट नक्सा पास भइसकेको समितिका सचिव लीलाबहादुर दाहालले बताउनुभयो । प्रतिष्ठानले सङ्कलित रकमबाट सभाहल, पदाधिकारी कक्ष र अतिथि गृह रहनेगरी कार्यालय भवन निर्माणको काम शुरु गरेको हो ।
भवन निर्माण गरेर बाँकी रहेको रु दुई लाख ४८ हजार ५३० रकम कार्यालय व्यवस्थापनमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कार्यालय भवनसम्म आवतजावतका लागि वडा कार्यालयको आर्थिक सहयोगमा कच्ची सडकसमेत निर्माण गरिएको छ ।