साप्सुखोला-विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही

Halesi Khabar
0 Shares

खोटाङ, २९ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको देखिएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाख ९९ हजार ९९० लगानीमा सञ्चालित साप्सुखोला-विजयखर्क-बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्शन कम्पनी प्रा.लि.बुढानिलकण्ठ-८ काठमाडौँ’ र उपभोक्ता समितिको चरम लापरबाही देखिएको हो ।

वि.सं. २०७९ असार-२२ गते सम्झौता गरेर निर्माणको काम शुरु गरिएको उक्त लिफ्टिङ खानेपानी आयोजनामा अहिले मेनलाइनको ट्याङ्की निर्माण र वितरण लाइनको पाइपलाइनका कामहरु धमाधम भइरहेका छन् । निर्माणाधीन अवस्थाका ट्याङ्कीहरु सम्पन्न नभइ चर्किएका छन् भने, पाइपलाइनको कामसमेत मापदण्डविपरीत भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको निरीक्षणमा देखिएको छ ।

स्वास्थ्यचौकीडाँडामा निर्माणाधीन मेनलाइनको २० हजार लिटर क्षमताको ट्याङ्की सम्पन्न नहुँदै भत्किन थालेको छ भने, सोही डाँडाभन्दा मुनि निर्माणाधीन ट्याङ्की बाङ्गो देखिएको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले समस्या देखिएको स्थानीय कमला ढकालले बताउनुभयो ।

वितरण लाइनको पाइप तीन फिट गहिराइको खाल्डो खनेर बिच्छ्याउनुपर्ने सम्झौतामा उल्लेख भएपनि दुई फिटमात्रै खनेर पुरेको पाइएको छ । दुई वर्षभित्र (वि.सं. २०८१ साउन-४ गते) पूरा गर्नुपर्ने उक्त लिफ्टिङ खानेपानी आयोजना ५२३ घरधुरी उपभोक्ताका लागि लक्षित गरेर निर्माणको काम शुरु गरिएको हो ।

निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी र उपभोक्ता समितिका पदाधिकारीले बढी नाफा कमाउने उद्देश्यले लापरबाही गरेको स्थानीय युवराज कार्कीले बताउनुभयो । “खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दादेखि अनियमितता भएको छ । खानेपानीजस्तो संवेदनशील आयोजनाको काममा राजनीतिकरण भएको छ”, उहाँले भन्नुभयो, “समिति गठन जसरी गरिएपनि आयोजनाको काम राम्रो ढङ्गले सञ्चालन गरेको भए हुन्थ्यो ! समितिका पदाधिकारीहरु ठेकेदारसँगै मिलेर उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने काम भएको छ । यसप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।”

आयोजना सञ्चालनका लागि नेपाली काँग्रेसबाट निर्वाचित विजयखर्कका वडाध्यक्ष रामबहादुर कटवालले बहुमत काँग्रेसका कार्यकर्ता राखेर समिति गठन गरेको स्थानीय अन्य राजनीतिक दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् । नौँ सदस्यीय उपभोक्ता समितिको अध्यक्षमा नेपाली काँग्रेस निकट इन्जिनियरहरुको सङ्गठन ‘सेन्टर फर डेमोक्रटिक इन्जिनियरर्स नेपाल (सिडेन)’का पूर्व केन्द्रीय सदस्य सरोज राई हुनुहुन्छ ।

खानेपानी आयोजनामा उपभोक्ता समितिका अध्यक्ष सरोज राईले आफूखुसी काम गर्ने गरेको सचिव मनोज राईले बताउनुभयो । “खानेपानी आयोजना उपभोक्ता समितिको बैठक भनेर बोलाइएको बैठकमा काँग्रेसका कार्यकर्ताहरु सहभागी हुन्थ्यो । बैठकमा हामीले राखेको कुरा लागू हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “विजयखर्कमा गौरवको खानेपानी आयोजना सञ्चालन हुनु खुसीको कुरा हो । तर, अध्यक्षले एकलौटी ढङ्गबाट काम गर्न थालेपछि अहिले निष्कृय बसेको छु । यसको विषयमा म जवाफदेही हुने छैन ।”

निर्माणाधीन अवस्थामै गुणस्तरहीन र विवादित खानेपानी आयोजनाको काम आम उपभोक्तासँग समन्वय नगरी एकलौटी ढङ्गबाट अगाडि बढाइए आन्दोलन शुरु गर्ने स्थानीय नरेन्द्र ढकालले बताउनुभएको छ । “गुणस्तरहीन काम भएपछि शुरुवाती चरणमै हामीले खबरदारी गरेका थियौँ । सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “गुणस्तरहीन काम भएको विषयमा खबरदारी गरिदिन ३१३ जनाको हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझायौँ । तर, अहिलेसम्म कुनै कारबाही भएको छैन । यही अवस्थामा काम हुने हो भने, विजयखर्कबासीले खानेपानी उपभोग गर्न पाउने अवस्था छैन ।”

लिफ्टिङ खानेपानी आयोजनाको स्वास्थ्यचौकीडाँडामा निर्माणाधीन ट्याङ्की गुणस्तरहीन भएको गुनासो आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई लगायतको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ । नगरपालिकाका प्राविधिकसहितको टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा गुणस्तरहीन भएको पाइएपछि उक्त ट्याङ्की भत्काएर पुनः अर्को बनाउन तथा बाँकी काम गुणस्तरीय गर्न नगर प्रमुख भट्टराईले ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिनुभएको छ ।

ट्रिटमेन्ट प्लान्टसहित मेनलाइनको ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इन्जिनियर सञ्जिव साहले जानकारी दिनुभयो । “स्वास्थ्यचौकीडाँडाभन्दा माथिको २० हजार लिटरको एउटा ट्याङ्कीमा समस्या देखिएको छ । त्यो भत्काएर अर्को निर्माण गर्ने तयारी गरिएको छ”, निर्माणस्थलमा पुगेका टोलीसँग उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थामा रहेका बाँकी पाँचवटा ट्याङ्की र पाइपलाइनको काम मापदण्ड अनुसार नै निर्माण गरेका छौँ । त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ छैन ।”

साप्सुखोलामा एक लाख लिटर, फूलमतीमा २० हजार, जुरेथुम्का २० हजार, बागेढुङ्गा २०, स्वास्थ्यचौकीडाँडामा २० र सहदेवगढीमा ५० हजार लिटरको ट्याङ्की निर्माणको काम भइरहेको पाइएको छ । ट्याङ्कीसँगै गार्ड हाउस (सुरक्षाकर्मी बस्ने गृह)समेत निर्माणको काम भइरहेको इन्जिनियर साहले बताउनुभयो ।

एक हजार ७०० मिटर तलबाट लिफ्टिङ गरेर निकालिने उक्त खानेपानी आयोजनाको वितरण लाइनमा पाँचवटा ट्याङ्की निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । वितरण लाइनमा २० हजार लिटरको दुई, १४ हजार, १२ हजार र दश हजार लिटरको एक/एकवटा ट्याङ्की निर्माण गरेर उपभोक्ताको घरघरमा खानेपानीको धारा पुर्‍याउनेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छ ।

लिफ्टिङ खानेपानी आयोजनाको काममा गुणस्तर कायम गराउन आफूहरु निरन्तर लागिपरेको उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो । “आयोजनाको काम द्रुत गतिमा भइरहेको छ । काम गर्नेक्रममा केही ठाउँमा खराबी आउनु स्वभाविक हो । बिग्रिएको ठाउँमा सच्याउँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “गुणस्तरका विषयमा कसैसँग सम्झौता हुँदैन । म आफू पनि इन्जिनियरिङ विषयको विद्यार्थी हुँ । केही व्यक्तिले खुला आँखाले हेरेर बिरोधका लागि बिरोध शुरु गरेका छन् । गुणस्तरका विषयमा उपभोक्ता समिति सजग छ र समयमै काम सम्पन्न हुन्छ ।”

निर्माणाधीन लिफ्टिङ खानेपानीको आयोजनामा ३३ प्रतिशत भौतिक प्रगति भएको उपभोक्ता समितिले जनाएको छ । यस वर्ष भौतिक पूर्वाधारको सम्पूणर् काम सम्पन्न गरेर अर्को वर्ष सञ्चालनमा ल्याउनेगरी तीव्रता दिइएको अध्यक्ष राईको भनाइ छ ।

साप्सुखोलाबाट लिफ्ट गर्दै निकालिने खानेपानी आयोजनामा सार्वजनिकस्थलसहित ७२५ वटा धारा बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । निर्माणाधीन अवस्थामै विवादमा आएको उक्त खानेपानी आयोजना कहिले सञ्चालनमा आउँछ भन्नेमा यकिन छैन ।

उता, उक्त आयोजनाको कार्यालय भवनसमेत व्यक्तिको जग्गामा निर्माण शुरु गरिएको पाइएको छ । वडा कार्यालयको जग्गामा कार्यालय भवन निर्माण गर्ने पूर्व सहमति भएपनि उपभोक्ता समितिका अध्यक्ष राईले स्थानीय गोविन्द पोखरेलको व्यक्तिगत जग्गामा लगेर निर्माण शुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

करिब रु एक करोड लगानीमा सम्पन्न हुने कार्यालय भवन बारीको डिल तथा जङ्गलको छेउमा निर्माणाधीन रहेको छ । सबैको पायक पर्ने ठाउँमा हुनेगरी कार्यालय भवन निर्माणको काम शुरु गरिएको अध्यक्ष राईले दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया