खोटाङ, २९ फागुन । दिक्तेलमा जारी ‘दिक्तेल मेयर कप’ अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगितामा नेर्पा स्पोर्टस् क्लब नेर्पा र माटिकोरे सामाजिक सेवा समाज दिक्तेल फाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको चौथो सँस्करणको प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई एक गोलले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको हो ।
सोमबार दिउँसो भएको खेलको पहिलो हाफमा साकेला फुटबल क्लबको दबाबमा बसेको नेर्पाले दोस्रो हाफपछि शानदार जीत निकाल्दै फाइनल यात्रा पक्का गरेको आयोजकले जनाएको छ । खेलको दोस्रो हाफमा भने नेर्पाले खेललाई उल्टाएर साकेलालाई लगातार चार गोल गर्दै जीत सुनिश्चित गरेको हो ।
खेलको पहिलो हाफमा साकेला फुटबल क्लबका खेलाडी विपिन राई, दिपिन राई र आयम राईले नेर्पाविरुद्ध एकएक गोल गरेका थिए । नेर्पाका तर्फबाट विकी राईले तीन र सुरज राईले एक गोल गरेका थिए ।
आजै भएको अर्को सेमिफाइनल खेलमा आयोजक केएफएलाई एक गोलले हराउँदै माटिकोरे सामाजिक सेवा समाजले फाइनलको यात्रा तय गरेको छ । माटिकोरेका खेलाडी सामेल चाम्लिङराईले गरेको एक गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको हो ।
प्रतियोगिताको फाइनल खेल भोलि दिउँसो १ बजेदेखि हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले नगद रु एक लाख २५ हजार र उपविजेताले नगद रु ६२ हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष नूरकाजी सैंजुले जानकारी दिनुभयो ।
प्रतियोगितामा गोल्डेन ग्लोब्स, गोल्डेन बल र गोल्डेन सुज विधा जित्ने खेलाडीले नगद पाँच हजार र म्यान अफ द म्याच हुने खेलाडीले एक हजार नगदका साथमा मेडल पाउने जनाइएको छ । प्रतियोगितामा जिल्लाका आठवटा क्लबको मात्र सहभागिता रहेको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।
‘खोटाङको पहिचान खेलकुदको अभियान’ नाराका साथमा दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना भएको एकेडेमीले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु गराउँदै आएको छ । दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो सँस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो ।