खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी बिरोध र आलोचना शुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयम् ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौँले ह्याम्मर र स्काभेटर लगाएर ट्याङ्की फुटाउन थालेको हो ।
लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माणका क्रममा भएको कमजोरी सच्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय, खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैले ट्याङ्की ह्याम्मर र स्काभेटर लगाएर फुटाउन थालेका हुन् ।
लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरणलाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्याङ्की बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्याङ्की कमजोर बनेपछि सबै वितरणलाइनको ट्याङ्की आरसिसि ढलान बनाउन निर्देशन दिइएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले बताउनुभएको छ ।
विजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिनेगरी वि.सं. २०७९ साउन–५ गतेदेखि आयोजनाको काम शुरु गरिएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएस सहित रु २९ करोड १३ लाख ९८ हजार ९९० लागतमा सक्नेगरी लिफिटङ खानेपानी आयोजनाको ठेक्का लागेको हो ।
वि.सं. २०८१ साउन–४ गतेसम्ममा सक्नेगरी उक्त निर्माण कम्पनीले वि.सं. २०७९ असार–२२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जङ्गल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।
ट्याङ्की निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय नरेन्द्र ढकालले बताउनुभयो । “पहिलाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ट्याङ्की निर्माण र पाईपलाइनको कामसमेत भएको छैन । सरकारी जग्गा छँदाछँदै व्यक्तिको जग्गामा कार्यालय भवन निर्माण शुरु गरिएको छ । सडक फराकिलो बनाउँदा काटिने ठाउँमा ट्याङ्की निर्माण गरिएको छ । उपभोक्ता समिति गठनसमेत एकलौटी गरियो”, उहाँले भन्नुभयो, “आयोजनाको काममा स्थानीयलाई काम गर्न दिइएन । सबै कामदार बाहिरबाट ल्याएर लगाइएको छ । हामीले शुरुबाटै गुणस्तर कायम गराउन लागिप¥यौँ । हाम्रो खबरदारीलाई उपभोक्ता समितिले बेवास्ता गर्दा यस्तो भयो ।”
लिफ्टिङ खानेपानी आयोजनाका लागि मेनलाईन र वितरणलाईन गरी ११ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, १०८.१५ किलोमिटर वितरण पाइपलाईन, ८.९९ किलोमिटर ट्रान्स्मिसन पाइपलाईन, एउटा कार्यालय भवन, पाँच वटा गार्ड हाउस, एउटा सम्पवेल लगायतका संरचना बनाउनुपर्ने सम्झौतामा उल्लेछ । हालसम्म आयोजनाको करिब ३३ प्रतिशत काम सकिएको उपभोक्ता समितिले जनाएको छ ।
लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइनतर्फको ट्याङ्कीको गुणस्तरमा पनि स्थानीय बासिन्दाले प्रश्न उठाएका छन् । स्थानीयले फलामको काँटीले कोतर्दा ह्वारह्वार्ती ट्याङ्कीको प्लाष्टर कोतरिएर झरेको भिडियो बुधबार सामाजिक सञ्जालमा राखेपछि चौतर्फी बिरोध भइरहेको छ ।
लिफ्टिङ खानेपानी आयोजनाको काममा गुणस्तर कायम गराउन आफूहरु निरन्तर लागिपरेको उपभोक्ता समितिका अध्यक्ष सरोज राईले बताउनुभयो । “आयोजनाको काम द्रुत गतिमा भइरहेको छ । काम गर्नेक्रममा केही ठाउँमा खराबी आउनु स्वभाविक हो । बिग्रिएको ठाउँमा सच्याउँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “गुणस्तरका विषयमा कसैसँग सम्झौता हुँदैन । म आफू पनि इन्जिनियरिङ विषयको विद्यार्थी हुँ । केही व्यक्तिले खुला आँखाले हेरेर बिरोधका लागि बिरोध शुरु गरेका छन् । गुणस्तरका विषयमा उपभोक्ता समिति सजग छ र समयमै काम सम्पन्न हुन्छ ।”
वितरण लाइनमा २० हजार लिटरको दुई, १४ हजार, १२ हजार र दश हजार लिटरको एक÷एकवटा ट्याङ्की निर्माण गरेर उपभोक्ताको घरघरमा खानेपानीको धारा पु¥याउनेगरी डिपिआर बनेको छ । मेनलाइन अन्तरगत साप्सुखोलामा एक लाख लिटर, फूलमतीमा २० हजार, जुरेथुम्का २० हजार, बागेढुङ्गा २०, स्वास्थ्यचौकीडाँडामा २० र सहदेवगढीमा ५० हजार लिटरको ट्याङ्की निर्माणको काम भइरहेको पाइएको छ ।