खोटाङ, ४ फागुन । आफ्नो शरीरमा आफै आगो लगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका २८ वर्षीय भोलाकाजी बास्तोला गम्भीर घाइते भएका छन् । गएराति शरीरमा आगो लगाएर आत्मदह प्रयास गरेका भोलाकाजीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भवन नभएपछि थप उपचारका लागि राजधानी काठमाडौँ पठाइएको छ ।
राति नै गाडी रिजर्भ गरेर राजधानी काठमाडौँ लगिएका दुई छोराका बुबा भोलाकाजीको अहिले काठमाडौँस्थित ट्रमा सेन्टर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घटना भएको केही समयपछि बेहोस बनेका भोलाकाजीको अहिले पनि होस नखुलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मादक पदार्थ सेवन गरेर शुक्रबार बेलुका घर पुगेका भोलाकाजीले आफ्नै मोटरसाइकलको पेट्रोल झिकेर शरीरमा आगो लगाएको खुलेको स्थानीय मीना पराजुलीले बताउनुभएको छ । “भोलाकाजी मादक पदार्थ सेवन घर पुगेका रहेछन् । मातेको झोकमा छोराहरुलाई कुटपिट गरेपछि आत्मदाह प्रयास गरेको खुलेको छ”, उहाँले भन्नुभयो, “शरीरमा लगाएको आगोले ठूलो रुप लिएपछि आफै पानीको दहमा पसेका रहेछन् । आगो निभेपछि घर फर्किएका भोलाकाजी केही समयपछि बेहोस बनेका थिए । उनको अहिले पनि होस खुलेको छैन ।”
आफै शरीरमा आगो लगाएर बेहोस बनेका भोलाकाजीको उपचारका लागि तत्कालै गाडी रिजर्भ गरेर काठमाडौँ पठाइएको नेर्पाका वडाध्यक्ष माधव राईले बताउनुभयो । “भोलाकाजीको आर्थिक अवस्था दयनीय छ । उद्धार गरेर काठमाडौँ त पुर्याइयो । तर, उनीहरुसँग उपचार खर्च छैन”, उहाँले भन्नुभयो, “उनको ज्यान बँचाउन गाउँमा चन्दा सङ्कलन थालिएको छ । नाबालक दुई छोराहरुको लागि भएपनि उनको ज्यान बँचाउन पाए हुन्थ्यो । घरका मुलीले नै यस्तो गरेपछि परिवारको बिचल्ली भएको छ ।”
सशस्त्र प्रहरी बल हलेसी गुल्मले शुक्रबार दिउँसो दिक्तेल बजारमा ग्याँस सिलिण्डर लिक भएर शुरु भएको आगो तथा आत्मदाह वा अन्य कारणले शरीरमा लागेको आगो निभाउने विधि सम्बन्धीका उपायहरु प्रदर्शन गरेको थियो । सशस्त्र प्रहरीले ग्याँस सिलिन्डरबाट शुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउने विधि सम्बन्धी उपायहरु प्रदर्शन गरेकै राति भोलाकाजीले शरीरमा आगो लगाएका हुन् ।
प्रायः दैनिकजसो मादक पदार्थ सेवन गर्ने भोलाकाजीको परिवारमा दैनिकरुपमा घर झगडा हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । भोलाकाजीले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेको घटना नै जिल्लामा पहिलो घटना हो ।