खोटाङ, ४ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन भौतिक पूर्वाधार निर्माणमा वडाध्यक्षले ठेकेदारको बचाउ गरेका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङबाट सञ्चालित ‘साप्सुखोला-विजयखर्क-बसेरी लिफ्टिङ खानेपानी आयोजना’को निर्माणाधीन ट्याङ्की गुणस्तरहीन भएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष रामबहादुर कटवालले ध्यानाकार्षणपत्र जारी गर्दै ठेकेदारको बचाउ गरेका हुन् ।
ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौँले आफ्नो कमजोरी स्वीकारेर गुणस्तरहीन ट्याङ्की भत्काउन थालेको पर्सिपल्ट वडाध्यक्ष कटवालले वडा कार्यालयको लेटरप्याडमा ध्यानाकार्षणपत्र जारी गर्दै आपत्ति भएको जनाएको छ । वडामा सञ्चालित विकासे आयोजनाका काममा आफूहरुको निगरानी भइरहेको जानकारी दिँदै स्थानीय नरेन्द्र ढकाल लगायतले झुटो प्रचार गरेर आयोजनाको काम प्रभावित पार्न खोजेको ध्यानाकार्षणपत्रमा उल्लेख छ ।
लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइन अन्तरगत फूलमतीडाँडा र जुरेथुम्काडाँमा निर्माणाधीन ट्याङ्कीको प्लाष्टर उप्काएर सामाजिक सञ्जालमा हाल्दै झुटो प्रचार गरेको ध्यानाकार्षणपत्रमा उल्लेख छ । “निर्माणाधीन ट्याङ्की प्लाष्टर गरेको २४ घण्टा नपुग्दै काँटी र रड प्रयोग गरेर उप्काइएको छ”, वडाध्यक्ष कटवालले जारी गरेको ध्यानाकार्षणपत्रमा भनिएको छ, “सामाजिक सञ्जालमा राखिएको भिडियोमा कुनै सत्यता छैन । आयोजनाको कामलाई गुणस्तरीय हामी आम वडाबासीको दायित्व हो । आयोजना प्रभावित पार्ने तरिकाले अनाधिकृत व्यक्तिले निर्माणाधीन संरचना भत्काउने एवम् क्षति पुर्याउने काम नगर्न/नगराउन हार्दिक अपिल गर्दछौँ ।”
लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माणका क्रममा भएको कमजोरी सच्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय, खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैले फागुन-१ गते स्वास्थ्यचौकीडाँडाभन्दा माथि फिरफिरेमा निर्माणाधीन गुणस्तरहीन ट्याङ्की ह्याम्मर र स्काभेटर लगाएर फुटाएका थिए ।
लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरणलाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्याङ्की बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्याङ्की कमजोर बनेपछि सबै वितरणलाइनको ट्याङ्की आरसिसि ढलान बनाउन निर्देशन दिइएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले बताउनुभएको छ ।
विजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिनेगरी वि.सं. २०७९ साउन-५ गतेदेखि आयोजनाको काम शुरु गरिएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएस सहित रु २९ करोड १३ लाख ९८ हजार ९९० लागतमा सक्नेगरी लिफिटङ खानेपानी आयोजनाको ठेक्का लागेको हो ।
वि.सं. २०८१ साउन-४ गतेसम्ममा सक्नेगरी उक्त निर्माण कम्पनीले वि.सं. २०७९ असार-२२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जङ्गल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।