स्ववियु निर्वाचन : खोटाङका एउटा क्याम्पसमा सर्वसहमत, छवटामा अन्यौल

Halesi Khabar
0 Shares

खोटाङ, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत खोटाङका सातवटा क्याम्पसमध्ये एउटामा सर्वसहमत नेतृत्व चयन भएको छ भने, छवटा क्याम्पसमा अन्यौल सिर्जना भएको छ । त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्यतालिका अनुसार साकेला बहुमुखी क्याम्पस रतन्छामा सर्वसहमत स्ववियुको नेतृत्व चयन भएको हो भने, अन्य छवटा क्याम्पसमा निर्वाचनको प्रक्रिया नै थालिएको छैन ।

साकेला बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवारको प्यानल नै विजयी भएका छन् । अन्य सङ्गठनबाट कसैको पनि उम्मेदवारी नपरेकाले अनेरास्ववियुका यामबहादुर खड्का सभापति रहेको अनेरास्ववियुका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताउनुभएको छ ।

क्याम्पस प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार सचिवमा रमिता फुयाल, कोषाध्यक्षमा सरला राई तथा तीनजना सदस्यमा क्रमशः रीता खड्का, कविता दुलाल र उमा विष्ट निर्वाचित भएका छन् । त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्यतालिका अनुसार सबै प्रक्रिया पूरा गरेर अन्तिम नतिजा सार्वजनिक गरिएको क्याम्पस प्रशासनले विज्ञप्तिमा जनाएको छ ।

साकेला बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएपछि अन्य विद्यार्थी सङ्गठनले भने, आपत्ति जनाएका छन् । जिल्लामा अस्तित्वमा रहेका विद्यार्थी सङ्गठनहरुबीच भएको सहमतिअनुसार निर्धारित समयमा कुनै क्याम्पसमा निर्वाचनको प्रक्रिया अगाडि नबढाउने निणर्य भएपनि अनेरास्ववियुले गद्दारी गरेको अन्य विद्यार्थी सङ्गठनको आरोप छ ।

दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल, रावा क्याम्पस खार्पा, सिम्पानी क्याम्पस सिम्पानी, खोटाङ क्याम्पस खोटाङबजार, चिसापानी क्याम्पस चिसापानी र हलेसी क्याम्पस हलेसी सञ्चालनमा रहेका छन् । जिल्लाको सात क्याम्पसमध्ये साकेला बहुमुखी क्याम्पस बाहेक अन्यमा स्ववियु निर्वाचनको प्रक्रिया नै थालिएको छैन ।

जिल्लाका सबै क्याम्पसहरुमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले आफ्नो सङ्गठन दर्ता गराएको छ । दिक्तेल बहुमुखी क्याम्पसमा भने, दुई स्वतन्त्र समूह प्रतिभाशाली स्वतन्त्र विद्यार्थी समूह र स्वतन्त्र विद्यार्थी नवीन पाइला समूहले पनि चुनावमा भाग लिन समूह दर्ता गराएका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसमा दुई फरक समूहले समूह दर्ता गराएपछि उनीहरुलाई राजनीतिक दलका विद्यार्थी सङ्गठन जतिकै मान्यता दिन नमिल्ने भन्दै अन्य विद्यार्थी सङ्गठनले बिरोध जनाएको थियो । त्रि.विको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०७९ मा ११ जनाभन्दा बढीको समूह बनाएर कुनै पनि विद्यार्थी समूहले निर्वाचनका लागि भाग लिन पाउने प्रावधान भएकाले सोही अनुसार उनीहरुले समानुपातिकसम्मकै चुनावमा भाग लिन पाउने स्ववियु निर्वाचन समितिका प्रमुख एलपी घिमिरेले बताउनुभएको छ ।

स्वतन्त्रले निर्वाचनका लागि समूह दर्ता गराएपछि चुनाव हार्ने डरले राजनीतिक दल निटक विद्यार्थी सङ्गठनहरुले अस्वीरकार गरेको आरोप छ । त्रि.विले फागुन-१९ गते सङ्गठन दर्ता गर्ने, २१ गते मतदाता सूचि प्रकाशित गर्ने र सूचि उपर दाबी विरोध गर्न २५ गते बिहान-१० बजेसम्मको समय दिएको थियो । तर, क्याम्पसले ढिलागरी प्रक्रिया शुरु गर्दा दाबी विरोधको समय अत्यन्तै छोटो भएकाले विरोध गरिएको विद्यार्थी सङ्गठनहरुले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा सहमति नभएपछि जिल्लाका अन्य क्याम्पसमा समेत स्ववियु निर्वाचन अन्यौलमा परेको छ । दिक्तेल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन गराउन मुख्यगरी एमाले निकट अनेरास्ववियुले नचाहेकाले समस्या भएको नेवि सङ्घका क्याम्पस इकाइ समिति अध्यक्ष सुमन आचार्यले बताउनुभयो ।

दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचन गराउन एमालेका पार्टी प्रतिनिधि जिल्ला सदस्य ओमप्रकाश घिमिरे, अनेरास्ववियुका जिल्ला सचिव विष्णु उपरकोटी र क्याम्पस इकाइ समिति अध्यक्ष दयाराम भट्टराईले अन्य सङ्गठनसँग गरेको सहमति एमालेकै जिल्ला सदस्य एवम् विद्यार्थी सङ्गठन विभाग प्रमुख खेमराज देउसाली र अनेरास्ववियुका केन्द्रीय सदस्य मोहन पोखरेलले अस्वीकार गरेको जनाइएको छ । विद्यार्थी सङ्गठन विभाग प्रमुख देउसालीले भने, क्याम्पसले त्रि.वि.को कार्यतालिकाभन्दा फरक तरिकाले कार्यतालिका बनाएर निर्वाचन गराउन खोजेकाले विरोध गरिएको आरोप दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया