ग्राहकको पैसा सापटी लिएर प्रभु बैङ्कका प्रबन्धक खतिवडा महिना दिनअघिदेखि सम्पर्कविहीन

Halesi Khabar
0 Shares

खोटाङ, ६ चैत । प्रभु बैङ्कको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर महिना दिनअघिदेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैङ्कका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन–१ गतेदेखि सम्पर्कविहीन बनेका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन बनेपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरु फसेको भन्दै अत्तालिन थालेका छन् । गत माघ मसान्तसम्म बैङ्कको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

प्रबन्धक खतिवडाले सापटी भनेर रु दश लाख लिएकोमा रु पाँच लाख फिर्ता गरेर बाँकी रु पाँच लाख फिर्ता नगरी सम्पर्कविहीन बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँसीराज बस्नेतले बताउनुभयो । “प्रबन्धक खविडा मेरै स्कूले साथी हुनुहुन्छ । धेरै पटक उहाँले हामीसँग व्यवहार गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “पछिल्लो समय पैसा फिर्ता नगरी एकाएक उहाँ सम्पर्कविहीन हुनुभयो । सँगै पढेको साथीले यस्तो गरेपछि दुःख लागेको छ ।”

प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट रु १६ लाखसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैङ्कमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्नेगरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको रु लाख पैसा सापटी लिएर सम्पर्कविहीन बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । “प्रबन्धक खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैङ्कबाट पैसा झिक्नुहुन्थ्यो । मेरो ओडी खाता हेरेर रु तीन लाख सापटी मागेपछि दिएँ । चार÷पाँच दिनपछि फेरि बैङ्कमा बोलाउनुभयो”, उहाँले भन्नुभयो, “फेरि मेरै नाममा काटेको रु तीन लाखको चेक लैजानुभयो । नदिउँ भने बैङ्कको हाकिम, कसरी नदिनु ! सबै लोनको काम गर्दिरहेको छ । त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ । अहिले आएर फसेँ !”

प्रबन्धक खतिवडा सम्पर्कविहीन बनेपछि कोठा, घर र प्रभु बैङ्कको प्रदेश कार्यालय, बिराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताउनुभएको छ । उनले चिनजानका व्यक्तिबाट रु एक करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले सोही बैङ्कको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उहाँका छोरा उद्धव श्रेष्ठको रु दुई ८७ हजार सापटी लिएर फिर्ता नगरेको इन्द्रकुमारका जेठा छोरा ध्रुव श्रेष्ठले बताउनुभयो । “प्रबन्धक खतिवडाले हाम्रो परिवारबाट त्यसअघि पनि पटक–पटक सापटी पैसा चलाउनुहुन्थ्यो । बैङ्कका प्रबन्धकले भनेपछि दिनैप¥यो । उहाँ आफ्नै जिल्लाका स्थानीय बासिन्दा पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो, “बैङ्ककै प्रबन्धकले यस्तो गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो । अहिले धेरैको पैसा चलाएर फिर्ता नगरी सम्पर्कविहीन भएको सुन्नमा आएको छ ।”

प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ । प्रबन्धक खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ छ । उनले बैङ्कको रकम भने छोएका छैनन् ।

शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन बनेको केही समयपछि प्रभु बैङ्कले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ । यद्यपि, खतिवडा सम्पर्कविहीन बनेको विषयमा प्रभु बैङ्कको आधिकारिक धारणा आएको छैन ।

प्रबन्धक खतिवडाबाट पीडित बनेका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्नका लागि छलफलमा जुटेका छन् । पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया