हलेसी तुवाचुङले शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गर्ने

Halesi Khabar
0 Shares

खोटाङ, ८ चैत । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सातवटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।

मापसे परीक्षण गर्ने छवटा उपकरण नगरपालिकाभित्रका छवटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “बिगतका वर्षहरुमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटनाहरु छन्”, उहाँले भन्नुभयो, “कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ । यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे चेक गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो ।”

मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।

मापसे चेक गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे÷नगरेको पत्ता लगाउनसमेत मापसे चेक गर्ने उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।

आवश्यक परेको समयमा मापसे गर्ने सबैको मापसे चेक गर्न उपकरणको प्रयोग गरिने नगरप्रमुख राईले बताउनुभयो । विशेषगरी शिक्षकलाई लक्ष्यित गरेर मापसे चेक गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म पादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्ने डिजिटल उपकरण छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङमा समेत मापसे परीक्षण गर्ने डिजिटन उपकरण नरहेको बुझिएको छ ।

ट्राफिक प्रहरी कार्यालयमा एकजना व्यक्तिको मापसे परीक्षण गर्न कम्तिमा पाँच÷सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताउनुभएको छ । “डिजिटल उपकरण नहुँदा सबैजनाको परीक्षण गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “शङ्कास्पद व्यक्तिको कार्यालयमा लगेर परीक्षण गर्ने गरिएको छ ।”

जिल्लामा मापसे गरे÷नगरेको आधिकारिकरुपमा पुष्टि गर्न जिल्ला अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । मुख सुँगेर मापसे गरे÷नगरेको पत्ता लगाउनुपर्ने अवस्था रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाको निर्णयलाई महत्वका साथ हेरिएको छ ।

 

तपाईको प्रतिक्रिया